नेपालगन्ज / राप्ती नदीकाे पुलबाट गए राति खसेको बसका चालकले इन्जिनमा समस्या भएपछि दुर्घटना हुन पुगेकाे बयान दिएका छन् । दुर्घटनामा सामान्य घाइते भएका चालक लाल बहादुर नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गर्दा सापट बिग्रिएर चक्का नघुमेपछि बस पुलबाट खसेकाे बयान दिएका हुन् ।
जिल्ला प्रहरी कार्यालय दाङका (डिएसपी) जनक मल्लका अनुसार चालकसँग बयान लिँदा बसको सापटले काम नगरेपछि दुर्घटना भएको बताएका छन् । ‘बसको इन्जिनमा समस्या भए नभएको बारे परीक्षण गरिनेछ ।’ डिएसपी मल्लले भने । नदिमा खसेको बस बाहिर निकालिने र बसको इन्जिनको परीक्षण गरिने उनले बताए ।
दुर्घटनामा १२ जनाकाे मृत्यु भएकाे छ । भने अन्य २३ जना घाइते भएका छन । मृत्यु भएका आठ जनाकाे मात्रै अहिलेसम्म सनाखत भएकाे छ । प्रहरीका अनुसार मृत्यु हुनेमा बाँकेकी ६० वर्षीया कुसुम बस्नेत, मकवानपुरका ३९ वर्षीय सौरभ विष्ट, काठमाडौं चन्द्रगिरीका ६५ वर्षीय ताराकान्त पाण्डे, भारतकाे उत्तर प्रदेशका ३१ वर्षीय मुने, जुम्लाका ४० वर्षीय मुनबहादुर रावत रहेका छन् ।
यस्तै बाँकेका ३० वर्षीय रामवरण हरिजन, रुकुमका २५ वर्षीय दीपक कामी र भारत विहारका ६७ वर्षीय जोगेन्द्र रामकाे पनि दुर्घटनामा मृत्यु भएकाे छ । दुर्घटनामा मृत्यु भएका अन्य चार जनाकाे सनाखत हुन बाँकी रहेकाे इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक उज्ज्वल सिंहले बताए । घाइतेमध्ये केहीकाे बुटवल र नेपालगञ्ज तथा केहीकाे भालुवाङ अस्पतालमा उपचार भइरहेकाे छ ।
घटनालगत्तै पुगेको प्रहरीले पाँच जनालाई उद्धार गरी अस्पताल पठाउँदा उनीहरूको अस्पतालमै चिकित्सकले मृत्यु घोषणा गरेका थिए । पछि बसले च्यापिएको अवस्थामा सात जनाको शव जेसीवीले निकालेको सिंहले बताए । नेपालगञ्जबाट काठमाडाैंका लागि छुटेको नमस्ते यातायात प्रालिको भे १ ख ३९१२ नम्बरको बस शुक्रबार राति साढे १० बजेतिर दाङको भालुबाङस्थित राप्ती नदिमा दुर्घटनामा परेको थियो ।
