Close sidebar

राठौर यु–१६ क्रिकेट उपाधि मङ्गल प्रसाद उच्च माविलाई

२०८० पुष २५ गते, बुधबार २१:२३

नेपालगन्ज / नेपालगन्जमा जारी प्रथम किशोर सिंह राठौर यु–१६ कप क्रिकेट प्रतियोगिताको उपाधि मङ्गल प्रसाद उच्च माविले जितेको छ । बुधबार घरेलु मैदानमा भएको फाइनल खेलमा मङ्गल प्रसाद उच्च माविले नेपालगन्ज मोडेल एकेडेमीलाई चार विकेटले हराउँदै उपाधि जितेको हो ।

टस जितेर सुरुआतमा ब्याटिङ गरेको नेपालगन्ज मोडेलले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय १७ रन बनाएको थियो । नेपालगन्ज मोडेलका लागि सुमित विष्टले २४, विवेक पुनमगरले १५ र रोजिन पुनमगरले १३ रनको योगदान दिए । मङ्गलका अजय केवट र समीर कसगरले दुई/ दुई तथा फरहान खानले एक विकेट लिए ।

एक सय १८ रनको विजयी लक्ष्य लिएर मैदानमा उत्रिएको मङ्गल प्रसादले १७ ओभरमा ६ विकेटको नोक्सानीमा लक्ष्य पुरा गरेको थियो । मङ्गलका लागि फरहान शेखले २९, अबु सहिमा शेखले २० र अजय केवटले ११ रनको योगदान दिए । नेपालगन्ज मोडेलका सुमित विष्टले दुई, निश्चल पुन र रियाजुद्दिन खानले एक/एक विकेट लिए । मङ्गलका फरहान शेख प्लेयर अफ दि फाइनल घोषित भए ।

प्रतियोगितामा आइडियल पब्लिक स्कुलका समीर अन्सारी प्लेयर अफ दि टुर्नामेन्ट र उत्कृष्ट बलर, मङ्गल प्रसाद उच्च माविका साहिल शेख उत्कृष्ट ब्याटसम्यान, मङ्गल प्रसादकै अबु सहिमा शेख उत्कृष्ट फिल्डर घोषित भए । विजेताले ५० हजार, उपविजेताले ३० हजार र उत्कृष्ट खेलाडीले १० हजार रुपियाँ पुरस्कार हात पारे । उत्कृष्ट बलर, उत्कृष्ट फिल्डर, उत्कृष्ट ब्याटसम्यानलाई पनि नगद पुरस्कार प्रदान गरियो ।

विजेतालाई नेपाली काँग्रेसका सह–महामन्त्री किशोर सिंह राठौर, लुम्बिनी प्रदेश सभासद् माया पुन, सन्जु चौधरी, मिना सिद्दिकी, सुशीला नेपाली लगायतले पुरस्कार प्रदान गर्नु भएको थियोे । प्रतियोगितामा बाँकेका १६ विद्यालयको सहभागिता रहेको थियो ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया