काठमाडौं / पूर्वडीआईजी महेश विक्रम शाहलाई विशेष अदालतले तीन वर्ष जेल सजाय सुनाएको छ । भ्रष्टाचार आरोपमा बुधबार विशेष अदालतले शाहलाई तीन वर्ष जेल सजाय सुनाएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शाह लगायतविरुद्ध १६ लाख ६९ हजार ४२ रुपैयाँ बिगो दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो । उनलाई बिगो र बिगो बमोजिम जरिवाना पनि भएको छ ।
यहीँ पुस ११ गते विशेष अदालतले शाह सहित दुई जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको थियो । शाहसहित प्रहरीका पूर्वसई क्षेत्रीय प्रहरी तालिम केन्द्र दुधौलीमा कार्यरत दीपेन्द्र प्रसाद पनेरुलाई दोषी ठहर गरेको थियो ।
अख्तियारले २० फागुन २०७६ मा यो मुद्दा विशेष अदालतमा दायर गरेको थियो । यो मुद्दाका आरोपित प्रहरी हवल्दार केशव सिंह ऐरी र लेखापाल सञ्जीव विशंखेले भने सफाई पाएका थिए । पूर्वडीआईजी शाह मदन पुरस्कार विजेता साहित्यकार समेत हुन् ।
