Close sidebar

नेपालगन्जस्थित नेपाल भारत सीमा क्षेत्र सौन्दर्यकरण, प्रवेशद्वारमा राष्ट्रिय झण्डा

२०८० पुष २४ गते, मंगलवार ००:१९

नेपालगन्ज / नेपालगन्जस्थित नेपाल भारत सीमा क्षेत्र सौन्दर्यकरण गरिएको छ । नेपालगन्ज उपमहानगरपालिका र सशस्त्र प्रहरी बल नेपालको सहकार्यमा नेपाल भारत सीमा (जमुनाहा) क्षेत्र सौन्दर्यकरण गरिएको हो । नेपाल भारत प्रवेशद्वार रङ्गरोगन, सरसफाई र रंगिन गमलामा विरुवाहरु रोपिएको छ ।

सोमबार जमुनाहा नाकामा आयोजित एक कार्यक्रमका बीच नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट, सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ विन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देहीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक अभि कुमार खत्री र बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले संयुक्त रूपमा नेपाल भारत प्रवेशद्वारमा राष्ट्रिय झण्डा झण्डोत्तलन गर्नुभएको थियो ।

देशमै पहिलो पटक नेपालगन्ज नाकाबाट सीमा क्षेत्र सौन्दर्यकरण कार्यक्रम सुरु गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण हेडक्वाटर बागेश्वरी बाँकेका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक रमेशकुमार शाहीले बताउनुभयो । कार्यक्रममा बोल्दै नगर प्रमुख विष्टले एउटा देशबाट अर्को देशमा प्रवेश गर्ने ठाउँलाई सौन्दर्यकरण गरेर सुखद सन्देश प्रवाह गर्ने अभियानमा नेपालगन्ज उपमहानगरपालिकाले सहकार्य गरेको बताउँदै मुलुकको पहिचान झल्काउने राष्ट्रिय झण्डाले आत्मसम्मानलाई अझ बलियो बनाउने उल्लेख गर्नुभयो । सशस्त्र प्रहरी बलसंग आगामी दिनमा पनि यस्तै अभियानहरुमा सहकार्य गरेर जाने नगर प्रमुख विष्टको भनाई छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ विन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देहीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक खत्रीले सशस्त्र प्रहरी बल नेपालले सीमा क्षेत्रमा सौन्दर्यकरण गर्ने कार्यलाई अभियानकै रुपमा अगाडि बढाएको बताउँदै सहकार्यका लागि नेपालगन्ज उपमहानगरपालिका प्रति कृतज्ञता व्यक्त गर्नुभयो । उहाँले नेपालगन्ज नाकाबाट यसको सुरुवात भएको जानकारी दिनुभयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पोख्रेलले सीमा क्षेत्रमा सौन्दर्यकरण गरेर उत्कृष्ट कार्यको थालनी भएको बताउनुभयो । यस्तै नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख कमरुद्दिन राई, वडा नम्बर २० का वडा अध्यक्ष कौशलकुमार धोबी, बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुवासचन्द्र बोहरा लगायको उपस्थिति थियो ।

यसैबीच सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ विन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देहीको सौजन्यमा जमुनाहा नाकामा शुद्ध खानेपानी सेवाको आरम्भ गरिएको छ । बाहिनीपति खत्रीले शुद्ध खानेपानी सेवाको शुभारम्भ गर्नुभएको थियो । नाका भएर आवतजावत गर्ने व्यक्तिहरुलाई शुद्ध खानेपानी उपलब्ध गराउने उद्देश्यले खानेपानीको सेवा आरम्भ गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण हेडक्वाटर बागेश्वरी बाँकेका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक शाहीले बताउनुभयो ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया