
नेपालगन्ज / भूमिहिनहरुलाई जग्गा निस्सा वितरण कार्यक्रम आजबाट शुरु गरिएको छ । बाँकेको जानकी गाउँपालिका अन्तर्गत वडा नम्वर ६ भित्र बसोबास गरिरहेका भूमिहिन, दलित, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीलाई जग्गा निस्सा वितरण कार्यक्रम मंगलबारबाट शुरु गरिएको हो ।
जानकी गाउँपालिका बाँकेका अध्यक्ष छब्बन खाँको प्रमुख अथितित्वमा वडा नं. ६ बाट शुरु गरिएको निस्सा वितरण कार्यक्रममा अध्यक्ष खाँले पालिका क्षेत्रमा जसले जति जग्गा लिई बसेका छन् सम्पूर्णलाई लालपुर्जा मिल्नु पर्ने कुरामा जोड दिनुभयो ।
उनले पालिका क्षेत्रमा लामो समयदेखि जतिपनि भूमिहिन, दलित, सुकुम्वासी तथा अव्यवस्थित बसोबास गरिरहेका छन्, उनीहरुलाई छिट्टै लालपुर्जा वितरण होस भनी गाउँपालिकाका सम्पूर्ण पदाधिकारीहरु प्रयासमा जुटेको बताउनुभयो ।
वडा नम्बर ६ का वडाअध्यक्ष जगदीश प्रसाद हरिजनले प्रत्येक वडामा गणकहरु परिचालन गरिएको बताउँदै जिल्ला सुकुम्वासी भुमि आयोगसँग समन्वय गरेर निस्सा वितरण शुरु गरिएको बताउनुभयो । विगतका स्थानीय सरकारले भुमिहिनहरुलाई आश्वासन मात्र दिए, तर हालको स्थानीय सरकारले निस्सा वितरण कार्यलाई आफनो कार्यकालमा पुरा गर्ने जिकिर गर्नुभयो ।
पहिला जसरी जन्मसिद्ध नागरिकता पाईन्थ्यो, सो अनुसार जग्गा निस्सा वितरण हुने र भविष्य मै नाप-नक्सा गरे अनुसार जसले जति जग्गामा बसोबास गरिरहेका छन उनीहरुलाई त्यसमै व्यवस्थापन गर्ने उनले प्रतिबद्धता समेत व्यक्त गरे ।
कार्यक्रममा जिल्ला भुमि आयोगका सदस्य एवं विज्ञ अशोक पोख्रेलले भूमिहिन, दलित र सुकुम्वासीले बसोबास गरिरहेकाहरुलाई नेपाल सरकारले कानुनी मापदन्ड अनुसार जग्गाधनी पुर्जा वितरण गर्ने नेपाल सरकारले महाअभियान नै चलाएको जानकारी दिए ।
वडा नम्बर ६ का वडाअध्यक्ष जगदीश प्रसाद हरिजनको सभापतित्वमा भएको कार्यक्रममा वडा सचिव सम्राट सिँह ठकुरीले सन्चालन गरेको कार्यक्रममा जिल्ला भुमी आयोगका सदस्य मिना सिक्देल, जानकी गाउँपालिकाका भुमी आयोग शाखाका कर्मचारीहरु, स्थानीयबासी लगायतको उपस्थिती रहेको थियो ।
