
नेपालगन्ज / शैक्षिक अवलोकन भ्रमणमा रहेको नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२, मुक्तिपुर स्थित युनाईटेड एजुकेशनल एकेडेमी स्कुलको बस दुर्घटना भएको छ । शनिबार साँझ करिब ६ बजेति बिरेन्द्रनगर नगरपालिका वडा नम्बर १२, सुब्बाकुनाबाट करीब ३०० मिटर अगाडी दुर्घटना भएको हो ।
सुर्खेतबाट नेपालगन्जतर्फ आउँदै गरेको भे. १ क ११२२ नम्बरको स्कुल बस र बिपरित दिशातर्फ आईरहेको भे. ३ प ९७४० नम्बरको मोटरसाइकल एक आपसमा ठोकिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
दुर्घटनामा परी टाउको र खुट्टामा चोट लागेर गम्भीर अवस्थामा रहेका मोटरसाइकल चालक बिरेन्द्रनगर नगरपालिका वडा नम्बर ११, धुलियाबिट बस्ने २६ वर्षीय मनोज सुनारलाई प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उपचारको क्रममा साँझ पौने ७ बजेतिर मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ११ बस्ने बस चालक ५९ वर्षीय रमेश कुमार बर्मा र बसलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेको स्कुल बसमा रहेका विद्यार्थीहरु भने सकुशल रहेको बताइएको छ ।
