काठमाडौं / आइसिसी टि-२० विश्वकप क्रिकेट छनोटमा नेपालले मलेसियामाथि ६ विकेटको सानदार जितका साथ सेमिफाइनलमा स्थान बनाएको छ । समूह ए बाट नेपाल र ओमानले सेमिफाइनलमा स्थान बनाएका हुन् । समान चार अंक भएपनि नेपाल नेटरनरेटका कारण शीर्ष स्थानमा छ ।
जितको लागि १ सय ६६ रनको विजयी लक्ष्य नेपालले १८ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा कुशल मल्ल ३४ बलमा २ चौका र ७ छक्कासहित सर्वाधिक ६५ रनमा आउट भए । नेपाललाई ओपनर कुशल भुर्तेलले २५ बलमा ४ चौका र ४ छक्कासहित ४३ रन र आसिफ शेखले २३ बलमा १ चौका र २ छक्कासहित ३२ रन जोड्दै सहज जितको आधार तय गरेका थिए ।
ओपनर आसिफ शेख र कुशल भुर्तेलले पहिलो विकेटका लागि ५.२ ओभरमा ४९ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । दोस्रो विकेटका लागि कुशल मल्ल र आसिफ शेखले ६७ रनको साझेदारी गरेका थिए । मलेसियाका अमिर अजिमले ३ ओभरमा १८ रन खर्चेर ३ विकेट लिए । पवनदीपको नाममा १ विकेट रह्यो ।
त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६५ रन बनाएको थियो । मलेसियाका ओपनर सैद अजिजले ४९ बलमा ८ चौका र २ छक्कासहित सर्वाधिक ६८ रनको योगदान दिएपनि जितको लागि पर्याप्त हुन सकेन । नेपालका तीव्र गतिका बलर अभिनाश बोहराले ४ ओभरमा २७ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । स्पिनर सन्दीप लामिछानेले ४ ओभरमा २२ रन खर्चेर १ विकेट लिए ।
नेपालले पहिलो खेलमा सिंगापुरलाई ८ विकेटले हराएको थियो । उता ओमानले पहिलो खेलमा मलेसियालाई ३२ रन र दोस्रो खेलमा सिंगापुरलाई २२ रनले हराएको थियो । समूह (ए)मा नेपाल २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा छ । भने ओमान २ खेलमा ४ अंकका साथ दोस्रो स्थानमा छ । समूह (ए)मा नेपालले अन्तिम खेल बिहीबार ओमानसँग खेल्नेछ । विजेता टोलीले समूह (बी)को उपविजेता र उपविजेता टोलीले समूह (बी)को विजेतासँग खेल्नेछ ।
फाइनल पुग्ने दुई टोलीले २०२४ मा वेस्टइन्डिज र अमेरिकामा हुने टि-२० विश्वकप खेल्न पाउनेछन् । समूह (बी)मा युएई २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा छ । बहराइन २ खेलमा १ मा जित र १ मा हारसहित २ अंकका साथ दोस्रो स्थानमा छ । हङकङ २ खेलमा २ अंकका साथ तेस्रो स्थानमा छ । कुवेत दुबै खेलमा हारका अंक विहीन हुँदै पुछारमा छ ।