नेपालगन्ज / बाँकेको कोहलपुरमा मोटरसाइकल र ट्याक्टर एकआपसमा ठोकिँदा एक जनाको मृत्यु भएको छ । शुक्रबार अपरान्ह करीब ४ बजेतिर भएको दुर्घटनामा परी नेपालगन्ज उपमहानगरपालिका वडा नं. ११ पासाङ ल्हामु रोड बस्ने २३ वर्षिय अमृत गुप्ताको मृत्यु भएको हो ।
नेपालगन्जबाट सुर्खेत तर्फ जाँदै गरेको भे ५ प ५०५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई ईलाका प्रहरी कार्यालय कोहलपुर अगाडि भे २ त २४३ नम्बरको ट्याक्टरमा ठोकिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी मोटरसाइकल चालक सुर्खेतको बिरेन्द्रनगर नगरपालिका वडा नं. ११ बस्ने २७ वर्षिय रनवीर चपाई घाइते भएका छन । घाइते चपाईको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ । दुर्घटना हुनुको कारण मोटरसाइल तिब्र गतिमा रहेको र दुवै जनाले मादक पदार्थ सेवन गरेको प्रहरीले जनाएको छ ।
