काठमाडौं / नेपाल आयल निगमले डिजेल र मट्टीतलेको मूल्य घटाएको छ । निगमले आज राति १२ बजेदेखि लागु हुने गरी डिजेल र मट्टीतेलमा प्रतिलिटर ४ रुपैयाँ घटाएको हो । अब काठमाडौं उपत्यका, पोखरा र दिपायलमा डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १६४ रुपैयाँ कायम भएको छ ।
त्यस्तै सुर्खेत र दाङमा डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १६३ रुपैयाँ कायम भएको छ । भने चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगन्ज, धनगढी र बीरगन्जमा डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १६१.५० रुपैयाँ कायम भएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यस्तै इन्डियन आयल कर्पोरेसनबाट आज पेट्रोलको मूल्यमा प्रतिलिटर १.५१ रुपैयाँ बढेर तथा डिजेलको मूल्यमा प्रतिलिटर ३.६३ रुपैयाँले घटेर आएको र एलपी ग्यासको मूल्यमा प्रतिसिलिन्डर ९३ रुपैयाँ बढेर आएको छ ।
तर आईओसीबाट पेट्रोल र खाना पकाउने ग्याँसको मूल्य बढेर आए पनि ठूला चाडपर्वको मुखमा मूल्य नबढाउने सरकारको नीतिअनुसार पेट्रोल र खान पकाउने ग्याँसको मूल्य हाललाई यथावत राखिएको निगमले जनाएको छ ।