नेपालगञ्ज / नेपालगञ्जको स्थिति सामान्य बन्दै गएपछि कर्फ्यु र निषेधाज्ञाको समयसीमा घटाइएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगन्ज उपमहानगरपालिका क्षेत्रमा लगाउँदै आएको दिनमा निषेधाज्ञा र रातमा कर्फ्युको समयसीमा घटाएको हो ।
जसअनुसार आज बिहान ९ बजेदेखि राति ८ बजेसम्म निषेधाज्ञा जारी रहनेछ भने राति ८ बजेदेखि बिहान ४ बजेसम्म कर्फ्यु जारी रहने प्रमुख जिल्ला अधिकारी बिपिन आचार्यले जानकारी दिए । यसअघि बिहान ८ बजेदेखि निषेधाज्ञा र राती ८ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यु लगाउँदै आइएको थियो ।
शनिबार प्रजिअ आचार्यले जारी गरेको सूचना अनुसार पूर्वमा राप्ती नदी पुल, पश्चिममा खजुरारोडको इन्द्रपुर जाने बाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाह नाकाक्षेत्रभित्र कुनै प्रकारको भेला, जुलुस, सभा, बैठक वा प्रदर्शन वा पोस्टर, पर्चा जस्ता प्रचार सामग्री टाँस्न लेख्न नपाइने गरी तथा हुलदङ्गा वा अशान्ति गर्ने उद्धेश्यले एकै ठाउँमा ५ जना भन्दा बढी मानिसहरू जम्मा हुन पाउने छैनन् ।
सामाजिक सञ्जालका कारण फैलिएको विवाद हिन्दू र मुस्लिम समुदाय आमनेसामनेको अवस्थामा पुगेपछि स्थिति नियन्त्रणमा लिनका लागि बाँके प्रशासनले गत १६ गतेबाट कर्फ्यु लगाएको हो ।
