
काठमाडौँ / एशियन गेम्स क्रिकेटमा भारतले स्वर्ण पदक जितेको छ, भने अफगानिस्तानले रजत पदक जितेको छ । भारत र अफगानिस्तान बीच शनिबार भएको फाइनल खेल वर्षाले रद्द भएपछि प्रतियोगितामा उच्च सिडिङ टिमको आधारमा भारतले स्वर्ण पदक र अफगानिस्तानले रजत पदक जितेको हो ।
भारत बिरुद्ध फाइनल खेलमा अफगानिस्तानले पहिला ब्याटिंग गर्ने क्रममा १८.२ ओभरमा ५ विकेट गुमाउँदै ११२ रन बनाएको अवस्थामा वर्षा भएपछि खेल पुनः हुन सकेको थिएन । यसैगरी शनिबार सम्पन्न पहिलो खेलमा बंगलादेशले पाकिस्तानलाई डीएलमेथड अनुसार ६ विकेटले पराजित गर्दै काश्य पदक जितेको छ ।
बर्षाले अवरुद्ध भएको खेलमा पाकिस्तानले पहिला ब्याटिंग गर्दै ५ ओभरमा १ विकेट गुमाउँदै ४८ रन बनाउँदा खेल रोकिएको थियो । त्यसपछि डिएल मेथड अनुसार बंगलादेशले ५ ओभरमा ६५ रनको लक्ष्य पाएको थियो । सो लक्ष्य बंगलादेशले ५ ओभरमा ४ विकेट गुमाउँदै पुरा गरेर खेलमा रोमान्चक जित हासिल गरेको थियो ।
अन्तिम बलमा जितका लागि चार रन आवश्यक रहेको बेला बंगलादेशका रकिबुल हसनले चौका प्रहार गर्दै बंगलादेशलाई काश्य पदक जिताएका थिए । एशियन गेम्स क्रिकेटमा नेपाल भने क्वाटरफाइनल खेलमा भारतसँग पराजित हुँदै बाहिरिएको थियो ।
