Close sidebar

नेपालगन्जमा दुई समुदायबीच झडप, नेपाली सेना परिचालन

२०८० आश्विन १६ गते, मंगलवार २३:१९

नेपालगन्ज / हिन्दू र मुस्लिम समुदायबीच झडपपछि स्थिति सामान्यिकरण गर्न नेपालगन्जमा नेपाली सेना परिचालन गरिएको छ । स्थिति नियन्त्रण बाहिर गएपछि जिल्ला प्रशासन कार्यालय बाँकेले अनिश्चितकाल कर्फ्यु आदेश जारी गर्दै ठूलो संख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरेको हो ।

मोहम्मद जन्मजयन्तीका दिन ईस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मद मुस्तफा सल्लललाहुअलैहे वसल्लमलाई सामाजिक सञ्जालमा अभद्र टिप्पणी (गालीगलौज) गर्ने युवकलाई कार्वाही गर्नु पर्ने माग गर्दै मुस्लिमहरुले गत आईतबार नेपालगन्जमा शान्तिपूर्ण विरोध प्रर्दशन गरेका थिए ।

जसको विरुद्धमा ओमकार परिवार नेपालगन्ज हिन्दु समाजले आज (मंगलबार) गरेको बन्दका दौरान निकालिएको र्‍यालीका क्रममा दुई समुदायबीच विवाद उत्पन्न भएपछि प्रहरीकै अगाडि घर तथा पसलहरुमा तोडफोड र आगो लगाइएको थियोे । स्थिती तनावग्रस्त भएपछि प्रहरीले दर्जनौं सेल अश्रुग्याँस र हवाई फायर गरि स्थिति नियन्त्रणमा लिएको थियोे ।

नेपालगन्ज क्षेत्रमा हिंसा भड्किएपछि स्थितिलाई नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगन्ज नगर क्षेत्रको पूर्वमा राप्ती नदि पुल, पश्चिममा खजुरा रोडको ईन्द्रपुर जाने बाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाहा नाका सीमा क्षेत्रभित्र कर्फ्यू आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी बिपिन आचार्यले जानकारी दिए ।

मंगलबार दिउँसो १ बजेबाट लगाइएको अनिश्चितकाल कर्फ्यु आदेशको समयमा कसैलाई पनि भेला, सभा समारोह, जुलुस तथा र्‍याली, हुल हुज्जत र हिँड्डुल नगर्न आदेश दिइएको छ । अनिश्चितकाल सम्म लगाइएको कर्फ्यु अर्को आदेश जारी नभएसम्म जारी रहने प्रमुख जिल्ला अधिकारी आचार्यले बताए ।

ओमकार परिवार हिन्दु समाजले निकालेको र्‍यालीको क्रममा विवाद उत्पन्न भइ नेपालगन्ज उपमहानगरपालिका क्षेत्रमा भएको सार्वजनिक सम्पत्ति तोडफोड, ढुंगामुडा प्रहार, उच्छृंखल गतिविधि लगायतका विरोध प्रदर्शनका कारण सर्वसाधारणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिम एवं शान्ति भंग हुन सक्ने स्थिति देखिएकोले नेपालगन्ज नगर क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको आदेशमा भनिएको छ ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया