Close sidebar

धुमधामका साथ नेपालगन्जमा ‘मोहम्मद डे’ मनाइयो, जुलुसमा मुख्यमन्त्री सहभागी

२०८० आश्विन ११ गते, बिहीबार १४:१५

शकील अहमद राई✍️
नेपालगञ्ज / ईस्लाम धर्मका अन्तिम प्रवर्तक हजरत मोहम्मद मुस्तफा ﷺ को १४४८ औं जन्मजयन्ती अर्थात ‘मोहम्मद डे’ आज नेपालगन्जमा धुमधामका साथ मनाइएको छ । बिहिवार बिहानै देखि इस्लामिक झण्डा र नेपालको राष्ट्रिय झण्डा सहित निकालिएको भब्य मोहम्मदी जुलूसमा मुस्लिम समुदायहरुले ‘सरकारकी आमद मरहबा’ को नारा लगाउँदै धुमधामका साथ  मोहम्मद डे मनाइएको हो ।

नेपालगञ्जको वडा नम्बर ३, स्थित जामा मस्जिददेखि सुरु भएको भब्य मोहम्मदी जुलूस घोसीटोल, फुल्टेक्रा, एमपी स्कुल रोड, रानी तलाउ, त्रिभुवन चोक, वीपी चोक, धम्बाझी चोक, घरवारीटोल, न्यूरोड लगायत नगर परिक्रमा गरि गौसिया मस्जिदमा पुगेर समापन गरिएको थियोे ।

ईस्लामिक क्यालेण्डर अनुसार हिजरी सम्वतको तेस्रो महिना रविउलअव्वलको ११ तारीखको मध्यरातमा हजरत मोहम्मद मुस्तफा ﷺ जन्मिएको खुस्यालीमा रविउलअव्वल महिनाको अरबी १ तारीख देखि १२ तारीखसम्म घर–टोलहरुमा ईस्लामिक झण्डा र झिलिमिली बत्ती लगायतले सजावट गरि मस्जिदहरुमा मिलाद फातिहा गराउने र घर–घरमा मिठो खाने परिकारहरुमा फातिहा दिने चलन रहेकोे मुस्लिम अगुवाहरु बताउँछन ।

यसैबीच जन्मजयन्तीका अवसरमा नेपालगञ्जको बिपी चोकमा आयोजना गरिएको कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले धार्मिक एकता र सद्भावबाटै राष्ट्रिय एकता बलियो हुने बताएका छन । उहाँले सबै धर्म र समुदाय बीचको एकता नै नेपालको विशेषता भएको बताए । यस्तै पूर्व मन्त्री तथा जसपाका नेता मोहम्मद इश्तियाक राईले सबै धर्म मान्ने समुदायबीचको सद्भाव र एकतालाई अझै सुदृढ पार्नुपर्नेमा जोड दिए ।

सो अवसरमा लुम्बिनी प्रदेश सभा सदस्य अम्बिका काफ्ले, संविधान सभा सदस्यहरु अब्दुल हमीद सिद्दिकी, सर्वतआरा खानम, नेपालगञ्जका नगर प्रमुख प्रशान्त विष्ट, कोहलपुरका नगर प्रमुख पूर्णप्रसाद आचार्य, बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्य, जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) सन्तोषसिंह राठौर लगायत विभिन्न राजनीतिक दलका नेताहरुको उपस्थिति रहेको थियो । जन्मजयन्तीका अवसरमा आज लुम्बिनी प्रदेश सरकारले इस्लाम धर्मावलम्बीहरुलाई सार्वजनिक विदा समेत दिएको छ । तस्वीरहरु : ताहिर शेष राई / न्युज फ्ल्यास खबर 

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया