
मो. ताहिर शेष राई (साहिल)✍️
नेपालगन्ज / बाँकेको जानकी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्नु भएका दिल बहादुर पौडेललाई आज एक कार्यक्रमकाबीच स्वागत तथा सम्मान गरिएको छ । गाउँपालिका अध्यक्ष छब्बन खाँंको सभापतित्वमा र उपाध्यक्ष रामप्यारी यादवको प्रमुख अतिथीमा बुधबार भएको कार्यक्रममा जनप्रतिनिधि र कर्मचारीले टीका—खादा र ढाका टोपी सहितले स्वागत तथा सम्मान गरिएको हो ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मुगु स्थित सोरूँ गाउँपालिकाबाट सरुवा गरेर पठाइएका पौडेललाई आश्विन ७ गते नयाँ प्रमुख प्रशासकीय अधिकृतको रूपमा गाउँपालिकामा हाजिर भएका छन । पौडेल र जनप्रतिनिधि तथा कर्मचारीहरुबीच सम्बन्धलाई सुमधुर बनाउनका लागि गाउँपालिकाले परिचयात्मक कार्यक्रमका साथै स्वागत तथा सम्मान कार्यक्रमको आयोजना गरिएको छ ।
स्वागत कार्यक्रममा बोल्दै अध्यक्ष छब्बन खाँले जानकीलाई राम्रो बनाउने सवालमा अहम भूमिका निर्वाह गर्न र सहकार्यले मात्र गाउँपालिकाको विकास सम्भव भएको बताउनुभयो । उहाँले जनप्रतिनिधी, कर्मचारी र जुनसुकै राजनीतिक पार्टीका सेवाग्राही बीचको सम्बन्धलाई हातेमालो गर्दै काम गर्ने वातावरण सिर्जना गर्ने बताउनुभयो । 
भर्खरै जिम्मेवारी सम्हाल्नु भएका प्रमुख प्रसाशकीय अधिकृत पौडेलले गाउँसभाको नीति तथा कार्यक्रम बमोजिम पालिकाको समग्र विकासका काम र सेवा प्रवाहमा गुणस्तरीय सुधार ल्याउने बताउनुभयो । उनले जनप्रतिनीधी र कर्मचारीबीच सहज वातावरण मिलाउने र कार्य सन्चालनमा जटिल चुनौती आए त पनि कहिल्यै पछि नहट्ने र सबैसँग हातेमालो गरेर कार्य गर्न प्रतिबद्धता व्यक्त गर्दै स्वागत सम्मानका लागि धन्यवाद समेत दिए ।
कार्यक्रममा पालिका प्रवक्ता एवं वडा नं. ५ का वडा अध्यक्ष टिकानाथ यादव, ६ नं. का वडा अध्यक्ष जगदीश प्रसाद हरिजन, १ नं. का वडा अध्यक्ष मो. युनुस (रजा) राई, विपद् तथा वातावरण व्यवस्थापन समितिका संयोजक राजेन्द्र सिंह, सामाजिक विकास संयोजक रामअचल धोबी र स्वास्थ्य प्रमुख दल बहादुर रानाले छुट्टाछुट्टै मन्तव्य ब्यक्त गरेका थिए । कार्यक्रममा जिन्सी शाखाका राजु यादव, कार्यपालिका सदस्यहरु, ४ नं. का वडाअध्यक्ष रमेशकुमार वर्मा, विषयगत शाखा प्रमुखहरु तथा कर्मचारी लगायतको उपस्थिति थियो ।
