
नेपालगन्ज / बाँकेको डुडुवा गाउँपालिका — ६ स्थित जयेन्दु बाल सुधार गृहमा दुई समूहबिच झडप हुँदा एक जनाको मृत्यु भएको छ । भने १० जना गम्भीर घाइते भएका छन । गम्भीर घाइते भएका कपिलबस्तु रुद्रपुरका अन्दाजी २१ वर्षीय सुलभ केसीको उपचारका क्रममा मृत्यु भएको हो । मृतक केसी अपहरण, शरिर बन्धक र जवरजस्ती करणीमा सजाय भोगिरहेको बाँके प्रहरी प्रवक्ता (डिएसपी) नारायण डाँगीले जानकारी दिए ।
बिहिवार राती करिब साढे १० बजेदेखि दुई बजेसम्म भएको दोहोरो झडपमा गम्भीर घाइतेहरूको शिक्षण अस्पताल नेपालगन्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइते हुनेमा जुम्लाका कालिबहादुर ऐडी, दाङका राजिव राय केसी लगायत रहेको बाल सुधार गृहका इन्चार्ज विमला काउचा मगरले जानकारी दिनुभयो ।
बाल सुधार गृहमा दुई सय ५५ जना छन । ती सबैले राती एक साथ प्रहरीमाथि आक्रमण गरि कार्यालय र सवारी साधन तोड्फोड गरेका छन् । तोड्फोडबाट सुधार गृह र कार्यालय भवनको झ्यालका सिसा फुट्नुका साथै कार्यालयमा रहेका कम्यूटर लगायतका उपकरणमा क्षति पुगेको छ । सुधार गृहमा रहेका प्रहरीको सरकारी गाडी र एउटा निजी मोटरसाइकलमा समेत क्षति पुर्याएको प्रहरीले जनाएको छ । बालसुधार गृहमा रहेका यूवाको समुहले आफूले खाने थाल, कटौरा, गिलास समेत बाहिर फालेका छन ।
बाल सुधार गृहमा रहेका केही नाइकेहरु भागेको अनुमान गरिएको छ । तर, प्रहरी त्यहाँ जान सक्ने अवस्था नरहेकोले भाग्नेको संख्या एकिन हुन नसकेको डिएसपी डाँगीले बताए । ‘भित्र कति जना छन भन्ने एकिन नहुँदासम्म कति जना भागे भन्ने एकिन गर्न सकिदैन,’ उनले भने, ‘३०–३५ जना भागेको अनुमान छ ।’ विहान अवस्था केहि सामान्य भए पनि छतबाट ढुंगा, इट्टा फाल्ने क्रम रोकिएको छैन । उनीहरुले प्रहरीलाई गालीगलौज गर्ने क्रम रोकिएको छैन । ‘स्थिति केहि सामान्य भएको छ, तर अझैँ नियन्त्रणमा आएको छैन,’ डिएसपी डाँगीले भने ।
पछिल्लो पटक लागु औषध मुद्दाका बालकहरूलाई ल्याएपछि बाल सुधार गृहमा रहेका अन्य ब्यक्तिहरुसँग पटक–पटक तनावपूर्ण अवस्था आउने गरेको छ । यसअघि माघ अन्तिम साता पनि दुई पक्षबीच झडप भएपछि आगजनी र तोडफोड गरिएको थियोे । बालिग भए पनि यही बस्न पाउने भएकाले दोहोरो झडपका घटना बढी हुने गरेको पाइएको छ ।
