
सर्लाही / शान्ति सुरक्षा बिग्रन नदिन सर्लाही जिल्ला सदरमुकाम मलङ्गवामा फेरि कर्फ्यु आदेश जारी गरेको छ । गणेश पूजा गरेको मूर्ति विसर्जन गर्नेक्रममा बुधबार दुई समूहबीच झडप भएपछि बिहिवार राति १० बजेदेखि अर्को आदेश वा व्यवस्था नभएसम्मका लागि जिल्ला प्रशासन कार्यालय सर्लाहीले अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको हो ।
प्रशासनले पुरानो मलङ्गवा नगरक्षेत्र पूर्वमा झिम नदी, पश्चिम मुसैली नहर, दक्षिणमा नेपाल–भारत सीमा क्षेत्र र उत्तरमा प्रहरी पोष्ट, बाबा पेट्रोलपम्म कर्फ्यु जारी गरेको सूचनामा उल्लेख छ । कर्फ्यु जारी गरिएको क्षेत्रभित्र कसैले आजवतजावत, भेला हुन, बाहिर हिँडडुल गर्न एवं अरु कुनै प्रकारको गतिविधि गर्न निषेध गरिएको छ । कर्फ्यु आदेशपछि अहिले मलङ्गवामा ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको र स्थिति सामान्य रहेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो ।
बुधबार राति मलङ्गवा – ४ स्थित कदमपोखरीमा मूर्ति सेलाउने क्रममा दुई समूहबीच झडप भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डिएसपी दिपेन्द्र पजियारले बताए । राति अकास्मात बत्ती गएपछि सुरू भएको दुई समूहको झडप र ढुंगामुढा प्रहरी पुगेपछि साम्य भएको थियो । ‘एउटा समूहले ढुंगामुढा गरेपछि अर्को समूह पनि ढुंगामुढामा उत्रियो । बीचमा रहेर स्थितिलाई नियन्त्रण लिने क्रममा प्रहरीमाथि नै आक्रमण भयो । त्यसपछि सामान्य बल प्रयोग गरी स्थितिलाई नियन्त्रणमा लियौं,’ डिएसपी पजियारले भने ।
ढुंगामुढाबाट ८ जना घाइते भएका छन् । तीमध्ये गम्भीर घाइते एक पुरुषको वीरगंजमा उपचार भइरहेको छ । दुई पक्षबीचको झडपलाई नियन्त्रणमा लिने क्रममा केही प्रहरी पनि घाइते भएका छन । घाइतेहरुको प्रादेशिक अस्पताल मलङ्गवामा उपचार भइरहेको छ । यसअघि भदौ २२ गते पनि कृष्णको मूर्ति विसर्जन गर्ने क्रममा यही क्षेत्रमा झडप भएको थियो । झडप भएपछि प्रशासनले २३ गते बेलुका ५ बजेदेखि २४ गते बिहान ८ बजेसम्म कर्फ्यु लगाएको थियो ।
