Close sidebar

सुन तस्करी सन्दर्भ–अण्डर वर्ल्ड सम्मको लिङ

२०८० श्रावण ८ गते, सोमबार १७:५२

सुन तस्करहरुको अण्डर वल्ड दाउद इब्राहिम, छोटा राजन जस्ताहरु सित सम्बन्ध रहेको कुरा कहिपनि लुकेको छैन ।यिनीहरूकै क्रिडास्थल बन्दै छ नेपाल ।

– धिरु बस्न्यात✍️

मेरो अनुभव छ ०५२ सालतिर कपिलवस्तु कृष्ण नगरमा एक जनाको रहस्यपुर्ण ढंगबाट हत्या भयो । मारिएका व्यक्तिले चालिस केजी सुन बिचमै गायब पारेको थियो जसरी ३३ केजी शनम शाक्य हत्या भएको थियोे । त्यो सुन अण्डर बर्ल्ड दाउद इब्राहिम सित सम्बन्धित थियोे । हुनै पर्छ कपिलबस्तुमा समेत गिरोहद्वारा गरिएको अनुसन्धानकै क्रममा उनको हत्या भएको थियो । कतिसम्म ताकत भने प्रहरीलाई जे जसो गरेर भए पनि भित्रीरुपमा परिचालन गरियो सुन पत्ता लगाउनकै लागि । गिरोहले धोका दिनेहरुलाई कसरी क्रुर पुर्बक हत्या गरिन्छ त्यो देखाउनैको लागि उनको शरिरको तलको भाग नेपाल भित्र र गिड भारत तर्फ मजाले प्लास्टिकले बेरेर दुई देशको सिमा बारी र पारी फ्यालिएको थियो । उनको शरिरलाई मेशिनमा राखेर मज्जा सित पार्ट पार्ट छुटाईएको थियोे ।

३३ केजी सुन काण्डमा पनि करेण्ट लगाएर सनम शाक्यलाई बर्बरता पुर्बक हत्या गरिएको थियो । यो पनि तस्करकै सन्जालमा आवद्ध गिरोहले नै गरेको थियो त्यो पनि अनुसन्धानकै क्रममा । बिमानस्थलमा समेत लोडर र एक ईन्जियरलाई आत्मा हत्या र किचेर मारिएको थियो । अहिले पनि भारतीय प्रहरीहरु समेत अण्डर बर्ल्डको नाम सुन्ने बित्तिकै ज्यादै गम्भिर हुने गर्छन । यसको मुख्य भित्री कारण उनको धेरै तहहरु हुन्छन कुनै कुनै तहले सरकारका मुख्य ब्यक्ति प्रहरी भन्सारलाई हात लिएकै हुन्छन् । भित्रीरुपमा आउने खतरा सबै भन्दा चुनौतिपुर्ण हुन्छ । सुन तस्करहरुको लागि हत्या गर्नु केही पनि होईन । पत्रकार सम्मेलनमा समेत “हामिले पनि छानबिन गर्छौ कसले हाम्रो नाम पत्रिकामा छपाएको हो” भन्ने कुरा बाहिर आएको छ । यो अप्रत्यक्षरुपमा गरिएको एक किसिमको धम्कीपुर्ण भाषा हो । जसको नाम मुछिन्छन् यति शक्तीशाली हुन्छन् जसको अकुत सम्पत्तीले सरकार बनाउन र गिराउन पनि सक्छन् । नेपालको त कुरै भएन किनकी एक त आर्थिक सकटमा गुज्रिएको भ्रष्टाचारले लिप्त अनि अस्थीर राजनैतिक माहोलबाट ग्रसित ।

कपिलबस्तुमा गायब भएको सुन र व्यक्ति हत्या सम्बन्धमा मिर्जा दिल शाह वेगको नाम पनि जोडियो । पछि सोही घटनालाई लिएर मिर्जा दिल शाह बेगले आफू मारिँदै छु भन्ने खबर पाए । बच्नको लागि धेरै काठमाण्डौंको ढोका पनि ढक ढकाए तर कसैले केही गर्न सकेन । काठमाण्डौं मै दिन दहाडै उनको हत्या भयो ।

वास्तवमा उनी ईमान्दार बदमाश थिए । उनलाई मैले नजिकैबाट परिक्षण र अनुभव गर्ने मौका पनि पाएका थिए । आफूलाई बदमाश नै भन्दथे । भाषण राम्रो गर्ने तर भित्र-भित्रै अपराध, तस्कर अनी भ्रष्टाचारमा सलग्न हुने कसैलाई पनि बाँकी राखेनन् । मेरो अनुभब अनी नजरमा उनी ईमान्दार बदमाश थिए । अहिलेका बदमाश जस्तो होईन जसले मुखमा राम राम बगलिमा छुरा राखेका हुन्छन् ।उनीहरुको नाम जोडिने बित्तिकै एक पटक भारतीय प्रहरी समेत गभिर हुने गर्छ ।

सुन तस्करीको संजालको जरो नेपालमा हागिनु देशको दुर्भाग्य हो । यो सन्जालको बिस्तार ब्यापक छ । ब्यापारी देखि प्रहरी, भन्सार कर्मचारी, नेताहरु पार्टी र सफेद पोश अपराधीहरु समेतको संलग्नता रहन्छ । अच्चमको कुरा सुन तस्करमा संलग्न हुनेहरुले अहिले घुषको रुपमा नगद होइन सुन नै लिने चलन छ । जसको कारणले पनि सुन तस्करी पहिलेको भन्दा मौलाउँदै गएको पाईन्छ । जग्गा माफियाले ललिता निवास प्रकरणमा समेत नगदको बदलामा काम गरि बापत जग्गा नै लिएका थिए । हाल नेकपा एमाले महासचिव बिष्णु पौडेल त लिएको जग्गा डरले कानुनी उन्मुक्ति कै लागि फिर्ता समेत गरे । लिनेहरु अहिले थुनामा छन ।

नेपालमा हुने सुन तस्करीमा अण्डर बर्ल्डको संलग्नता रहेको कुरा बिगतको ईतिहासले बताउँछ । अहिले सतहमा आएको १०० केजी सुन तस्करी प्रकरणले अन्तर्राष्ट्रिय गिरोह संजाल नेपालसंगै चिन र भारतमा समेत फैलिएको देखिन्छ । उक्त गिरोहको निकासी र पैठारी गर्ने सुगम स्थल नेपाल बनेको देखिन्छ । हङकङबाट आएको उक्त सुन त्यसमा पनि चिनिया नागरिक र भारतीय नागरिकहरु मुछिई पक्राउ पर्नाले शंका घेरालाई साघुरो बनाएको छ ।

नेपाल भन्दा त हङकङको बिमानस्थल ज्यादै प्रविधियुक्त छ र सुरक्षा प्रणाली पनि कडा छ तर पनि सुन तस्करीको स्रोत हङकङ किन भैरहेको छ ? सस्तो ठाउँबाट सुनको खपत जुन देशमा बढि हुन्छ त्यो ठाउँमा तस्करी हुने हो । कतिपय तस्करहरुले एक दुई पटक कर तिर्ने पनि गर्दछन, प्रज्ञापनपत्र बनाउन र एक पटक बनेको उक्त पत्रै देखाएर नै धेरै पटक सुन छिराई राखेका हुन्छन्, आश्चर्यको कुरा यही हो ।

        (लेखक पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक हुन)

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया