मो. ताहिर शेष राई (साहिल)
नेपालगन्ज / नेपाली कांँग्रेसका संस्थापक नेता तथा नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री विपी कोइरालाको ४१ औं स्मृति दिवसको अवसरका शनिबार दिन वृक्षरोपण कार्यक्रम गरिएको छ । नेपाली काँग्रेस जानकी गाउँपालिका बाँकेको आयोजनामा वडा नम्बर ३ मा अवस्थित श्री नेपाल राष्ट्रिय कन्या आधारभूत विद्यालयको खेल मैदानमा वृक्षारोपण कार्यक्रम गरिएको हो ।
जानकी गाउँपालिका अध्यक्ष छब्बन खाँको प्रमुख अतिथिमा भएको कार्यक्रममा उपस्थित आगन्तुकहरुलाई स्वागत मन्तव्य राख्दै अहिले प्रदेश तथा संघमा नेपाली काँग्रेसको नेतृत्वमा सरकार बनेसँगै विकासले थप गतिलिने अपेक्षा राख्नुभयो । विपीले देखाएका मार्गदर्शनलाई आत्मसाथ गर्नुपर्ने भन्दै अहिले नेपाली काँग्रेसको नेतृत्वमा सरकार गठन हुनु अवसर र चुनौती दुवै रहेको समेत उहाँले बताए ।
सोही कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांँग्रेस बाँकेका महासमिति सदस्य लक्ष्मी नरायण शाहले पार्टी भित्रको गुट उपगुटलाई अन्त्य गरेर पार्टीलाई सशक्त बनाउने कुरामा जोड दिनुभयो । उहाँले नयाँ तथा पुराना पुस्तालाई मिलाएर लैजान सके मात्र काँग्रेसको संगठन मजबुत हुने जिकिर गर्नुभयो । नेपाली काँग्रेस जानकी गाउँपालिका सभापति दयाराम यादवको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत सिँहराज डाँगी, जिन्सीका राजु यादव, नेपाली काँग्रेसका नेता तथा कार्यकर्ता लगायतको उपस्थिति रहेकोे थियो ।
