
नेपालगन्ज / नेपालगन्जस्थित बागेश्वरी मन्दिरमा हरेक सोमबार साँझ हुने महाआरतीमा पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाह परिवारका सदस्यसहित सहभागी हुनुभएको छ । आफ्नो ५४ औं वैवाहिक महोत्सवको अवसरमा पत्नी पूर्वरानी कोमलराज्य लक्ष्मीदेवी शाह, बुहारी हिमानी शाह सहित पूर्वराजा ज्ञानेन्द्र सहभागी हुनुभएको हो ।
सोमबार नेपालगन्जमा सिमसिमे पानी परिरहेको भए त पनि पूर्वराजपरिवारका सदस्यहरु बागेश्वरी मन्दिरमा केहीबेर पूजा गरेपछि १४ औं संस्करणको यो महाआरतीमा छाता ओढेर नै बसेका थिए । पूर्वराजासहित परिवारका सदस्य आउँदा ठूलो भीड लागेको थियो ।
पूर्वराजालाई राप्रपाका महामन्त्री एवम् प्रतिनिधि सभाका सांसद डा. धवलशमशेर राणा, बागेश्वरी मन्दिरका मूल महन्त चन्दननाथ योगी लगायतले स्वागत गरेका थिए । शुक्रबार नेपालगन्ज आएका पूर्वराजा शाहलाई २० गते नेपालगन्जस्थित रामलिला मैदानमा नागरिक अभिनन्दन गर्ने तयारी भएको छ ।
