Close sidebar

युएईलाई ७ विकेटले हराउँदै नेपाल पहिलो पटक एसिया कपमा छनोट

२०८० बैशाख १९ गते, मंगलवार १३:२८

काठमाडौं / एसिसी प्रिमियर कपको चम्पियन बन्दै नेपाल पहिलो पटक एसिया कपमा छनोट भएको छ । घरेलु मैदानमा वर्षाले प्रभावित फाइनल खेलमा युएईलाई ७ विकेटले हराउँदै नेपाल पहिलो पटक एसिया कपमा छनोट भएको हो । अब नेपालले पाकिस्तानमा हुने एसिया कपमा विश्व क्रिकेटकै महारथी देश पाकिस्तान र भारतसँग खेल्ने भएको छ ।

नेपालाई एसिया कपमा पुर्‍याउने क्रममा युवा अलरान्डर गुल्सन झा र भीम सार्कीले उत्कृष्ट इनिङ खेले । तेस्रो नम्बरमा ब्याटिङ गरेका गुल्सनले ८४ बलमा ३ चौका र ६ छक्का प्रहार गर्दै ६७ रन बनाए । यो उनको एकदिवसीयमा दोस्रो अर्धशतक हो । यस्तै भीम सार्कीले ७२ बलमा ४ चौका प्रहार गर्दै ३६ रन बनाए । ११८ रनको विजयी लक्ष्य लिएर उत्रिएको नेपालले २२ रन बनाउँदै ३ विकेट गुमाएपछि दबाबम परेको थियो । तर, गुल्सन र भीमले सम्हालिएको इनिङ खेल्दै भारत र पाकिस्तानसँग खेल्ने सपना साकार बनाए । यी दुईले चौथो विकेटका लागि ९२ रनको महत्त्वपूर्ण साझेदारी गर्दै नेपाललाई पहिलो पटक एसिया कपमा पुर्‍याए ।

बलिङमा युएईका रोहन मुस्तफाले १० ओभरमा १३ रन खर्चेर २ विकेट लिए भने आयन खानले १ विकेट लिए । त्यसअघि सोमबार भएको वर्षा प्रभावित खेलमा नेपाली बलर हावी भएपछि २७.३ ओभरमा १०६ रन बनाउँदा युएईले ९ विकेट गुमाएको थियो । त्यही अवस्थाबाट आज युएईले इनिङ सुरु गरेको थियो, तर युएईले थप ११ रन जोड्दा अलआउट भयो ।

युएईको इनिङ ध्वस्त बनाउने क्रममा नेपालका स्पिनर ललित राजवंशीले ७.१ ओभरमा २ मेडनसहित १४ रन मात्र खर्चेर ४ विकेट लिए । यस्तै, करण केसी र सन्दीप लामिछानेले पनि समान २-२ विकेट लिए । गुल्सन र सोमपाल कामीले १-१ विकेट आफ्नो नाम गरे । फाइनल खेलको म्यान अफ द म्याच गुलशन झा घोषित भए भने म्यान अफ द सिरिज सन्दीप लामिछाने घोषित भए ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया