काठमाडौँ / त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट दुबईका लागि उडेको फ्लाई दुबईको जहाज भारतको दिल्ली अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हल्ला मात्रै रहेको र उक्त जहाज दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण भएको छ ।
कलसाइन एफजेड ५७६ नम्बरको बिमान सोमबार साँझ ९ : २३ बजे उडेलगत्तै बिमानको एउटा इन्जिनमा समस्या आएर असामान्य झिल्का र विस्फोटको आवाज सुनिएपनि इन्जिनको समस्या समाधान भएको भन्दै पाइलटले उडानलाई निरन्तरता दिएका थिए ।
केहीबेर आकाशमै होल्ड भएर पाइलटले अर्को इन्जिन ठीक रहेकाले जहाजलाई उडान नियमित गर्न सकिने भनेर विमानस्थलको टावरसँग अनुमति मागेपछि टावरले अनुमति दिइएको बताइएको छ । असामान्य अवस्थाको विमानले धादिङको धार्केमाथिको आकाशमा केहीबेर फन्को लगाएर बिमान गन्तव्यतर्फ प्रस्थान गरेको थियोे ।
यससंगै फ्लाई दुबईले भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको आफ्नो विमानमा चरा ठोक्किएको दाबी गरेको छ । फ्लाई दुबईका प्रवक्तालाई उद्धत गर्दै दुबई सरकारको मिडिया कार्यालयको फेसबुक पेजमा विमान उड्नेबित्तिकै चरा ठोकिएको उल्लेख छ ।
