Close sidebar

दुर्घटनाबाट बच्यो फ्लाइ दुबई, सुरक्षित गन्तव्यतिर जाँदै, कोही चिन्ता नगर्नुहोला : मन्त्री किराती

२०८० बैशाख ११ गते, सोमबार २३:१७

काठमाडौँ / त्रिभुवन विमानस्थलबाट उडेको फ्लाई दुबैईको जहाज दुर्घटना हुनबाट जोगिएको छ । सोमबार साँझ ९ बजेर २३ मिनेटमा काठमाडौंबाट दुबईका लागि उडेको फ्लाई दुबैईको जहाजको एउटा इन्जिनमा समस्या आएर असामान्य झिल्का र विस्फोटको आवाज सुनिएपनि केहीबेर आकाशमै होल्ड भएर जहाज गन्तव्यतर्फ लागेको हो ।

कलसाइन एफजेड ५७६ नम्बरको उक्त जहाज उडेको केहीबेरमै समस्याग्रस्त बनेको थियो । त्यसलगत्तै विमानमा आगलागी भएको आशंका गरिएको थियो । असामान्य अवस्थाको जहाजले आकासमा केहीबेर फन्को लगाएको थियो । पाइलटले अर्को इन्जिन ठीक रहेकाले जहाजलाई उडान नियमित गर्न सकिने भनेर विमानस्थलको टावरसँग अनुमति मागेपछि अनुमति दिइएको बताइएको छ ।

यससँगै जहाज गन्तव्यतर्फ लागेको त्रिभुवन विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए । उनका अनुसार सम्भावित दुर्घटनालाई ध्यान दिँदै विमानस्थलमा सुरक्षाका आवश्यक सबै तयारी अपनाइएको थियो । तर जहाज नफर्किकन सुरक्षित रहेको जनाउसहित दुबईतर्फनै लागेको हो । प्राविधिक समस्या देखिएको सो जहाजमा १६९ जना यात्रु रहेका छन् । जसमा १२० विदेशी र ४९ जना नेपाली रहेका छन् ।

यसैबीच संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किरातीले फ्लाई दुबईको जहाज सुरक्षित आफ्नो गन्तव्यतिर गइरहेको बताएका छन् । उनले अब चिन्ता लिनुपर्ने अवस्था नरहेको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा मन्त्री किरातीले भनेका छन्, ‘फ्लाई दुवई जहाज सुरक्षित आफ्नो गन्तव्यतिर जाँदैछ कोही चिन्ता नगर्नुहोला सबैलाई शुभयात्रा ।’

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया