सरला सुबेदी✍️
नेपालगन्ज / पछिल्लो समय पत्रकार महिलाहरु पत्रकारिता पेशाबाट पलायन हुँदै गएको अवस्थामा सञ्चारिका समुहले भने विभिन्न कार्यक्रम आयोजना गरि पत्रकार महिलाहरुलाई कृयाशील बनाउँदै गएको छ । सञ्चारिका समूह लुम्बिनी प्रदेशको आयोजनामा बाँके र बर्दियाका महिला पत्रकारहरुको क्षमता अभिवृद्धि र उनीहरुमा भएको अनुभव सुन्नका लागि दुई दिने खोजमूलक पत्रकारिता तालिम आजबाट बाँकेको नेपालगन्जमा सन्चालनमा ल्याइएको हो ।
सञ्चारिका समुह लुम्बिनी प्रदेश र आन्तिरक मामिला तथा सहकारी मन्त्रालय लुम्बिनी प्रदेशको आयोजनामा बिहिवारबाट तालिम सन्चालनमा ल्याइएको छ । सञ्चारिका समूह लुम्बिनी प्रदेशकी अध्यक्ष अमृता अनमाेलले महिला पत्रकारहरुको लेखन क्षमतालाई अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । उनले महिला पत्रकारहरु पछिल्लो समय पारिवारिक कारण तथा सञ्चारगृहबाट समयमा पारिश्रमिक नपाउँदा यो पेशाबाट पलायन हुने तितो यथार्थ रहेको बताइन् । उनले सञ्चारिका समुहले लेख्ने पत्रकार महिलाहरुको लागि अवसर सिर्जना समेत गरिदिएको बताउनुभयो ।
सञ्चारिका समुहले आयोजना गरेको खोज पत्रकारिता तालिममा तीन दशकदेखि बाँकेमा रहेर पत्रकारिता गरिरहनु भएका बरिष्ठ पत्रकार रुद्र सुबेदीले सहभागी पत्रकार महिलाहरुलाई प्रशिक्षित गराएका हुन । उनले आफ्ना तितामिठा अनुभव सुनाउँदै पत्रकारिता भनेकाे खोजपूर्ण र खाेजमूलक विषयवस्तुमा रहेर अध्ययन गर्न जरुरी रहेकाे बताउनुभयो । उनले विशेषगरी पछिल्लो समय सञ्चार माध्यममा सिमान्तकृत समुदायका समाचार, स्टाेरी, फिचर र सम्पादकीय आउन छोडेको र हामीले खोजमूलक पत्रकारिता गर्दा त्यो समुदायका मुद्दाहरुलाई विशेष प्राथमिकतामा राखेर आफ्नो कलम अगाडि सार्नु पर्ने बताए ।
पत्रकारिता क्षेत्रमा महिलाहरुकाे क्षमता विकास र लेखनमा अभिवृद्धि गराउने सो खोजमुलक तालिममा बाँके र बर्दियाबाट २० जना महिला पत्रकारहरुको सहभागिता रहेको छ । तालिममा उपस्थिति पत्रकार महिलाहरुले आफुले भोगेका तितामिठा भोगाई र अनुभवहरु समेत सुनाएका थिए ।
