नेपालगञ्ज / श्रीमती र छोरालाई पेट्रोल छर्किएर आगो लगाई फरार रहेका श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ । कोहपलुर नगरपालिका – २ शक्तिनगरस्थित बस्दै आएका भानुभक्त विकलाई प्रहरीले पक्राउ गरेको हो ।
आइतवार राती करिब साढे १२ बजेको समयमा भारतीय सिमाना जमुनाहाबाट प्रहरीले विकलाई पक्राउ गरेको कोहलपुर ईलाका प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायव उपरीक्षक (डिएसपी) ऐन बहादुर मल्ले जानकारी दिए ।
डिएसपी मल्लका अनुसार प्रहरीको शादा पोशाकमा गएको गस्ती टोलिले विकलाई पक्राउ गरी कोहलपुर लगिएको छ र आवश्यक कार्वाहीको प्रक्रिया अघि बढाईएको छ ।
आईतबार साँझ करिब ७ बजेतिर आफ्नै घरमा घरायसी झगडा भएपछि श्रीमान विकले श्रीमती गंगा विक र २ वर्षीय छोरा प्रिन्स विकलाई पेट्रोल छर्किएर आगो लगाई फरार भएका थिए ।
घटना भएलगत्तै कोहलपुर मेडिकल कलेजमा उनीहरुलाई उपचारको निम्ति पुर्याईएको थियो । तर त्यहाँ उपचार सम्भव नभएको हुनाले उनीहरुलाई नेपालगञ्ज मेडिकल कलेजमा रेफर गरिएको थियो । उपचारका क्रममा भने बालक प्रिन्सको मृत्यु भएको छ ।
