काठमाडौं / रवि लामिछानेले आज नेपाली नागरिकताको प्रमाणपत्र लिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले पुनः उनलाई सभापतिको जिम्मेवारी दिएको छ ।
आइतबार लामिछानेले जिल्ला प्रशासन कार्यालय काठमाडौं गएर नेपाली नागरिकताको प्रमाणपत्र लिएपछि रास्वपाको केन्द्रिय समितिको बसेको बैठकले उनलाई पुनः सभापतिको जिम्मेवारी दिएको एक नेताले जानकारी दिए ।
लामिछानेले २०५० सालमा लिएको नेपाली नागरिकता नम्बर नै उल्लेख भएको नागरिकता प्रदान गरिएको काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले जानकारी दिइन् । ‘उहाँको नयाँ नागरिकता जारी भएको हो, नागरिकता नम्बर भने पुरानै कायम छ ।’
नागरिकता प्राप्त गरेर जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट निस्किँदै रवि लामिछाने ।
लामिछानेले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता लिने प्रक्रिया पूरा नगरेको भन्दै शुक्रबार सर्वोच्च अदालतले उनको सांसद पद खारेज गरेको थियो । त्यससँगै उनी राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिबाट पदमुक्त भएका थिए भने उपप्रधानमन्त्री तथा गृहमन्त्री पद पनि गुमेको थियो ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायाले लामिछानेले नागरिकता ऐन २०६३ को दफा ११ र नागरिकता नियमावलीको नियम ११ बमोजिम कागजात पेश गरेपछि नागरिकता प्रदान गरिएको बताए ।
