नेपालगन्ज । मानिसका लागि अति महत्त्वपूर्ण र अपरिहार्य वस्तु शिक्षा हो । यसले मानिसलाई व्यक्तित्व विकास गरी आत्मनिर्भर बनाउँछ । कक्षाकोठाको पढाइका अतिरिक्त विद्यार्थीहरूलाई थप शिक्षा प्राप्त गर्न शैक्षिक भ्रमण तथा वनभोज जस्ता कार्यक्रम पनि आवश्यक छ ।
त्यसैले बाँकेको जानकी गाउँपालिका वडा नम्बर १ मा अवस्थित शिवपुरी माध्यमिक विद्यालयले हरेक वर्ष सञ्चालन गर्दै आएको वनभोज कार्यक्रम यस वर्ष पनि अत्यन्तै उत्साहजनक वातावरणमा सम्पन्न गरेको छ ।
पौष १८ गते सम्पन्न राष्ट्रपति रनिङ्ग शिल्ड आठौं अध्यक्ष कप पालिका स्तरीय खेलकुद प्रतियोगितामा शिवपुरी विजयी भएको अवसरमा बुधबार बनभोज कार्यक्रमको आयोजना गरेको हो । बनभोज कार्यक्रममा खुशियाली साट्दै विद्यार्थी र शिक्षकहरुले बनभोज उत्सव मनाएका हुन् ।
विद्यालयका प्रधानाध्यापक देव रानाका अनुसार यस्ता शैक्षिक भ्रमणहरूले विद्यार्थीहरूको पाठ्यज्ञानलाई व्यवहारिक जीवनसँग जोड्दै उनीहरूमा अन्वेषणशीलता, अनुशासन, समूह भावना, परिवेश बुझ्ने क्षमता तथा आत्मविश्वास अभिवृद्धि गर्न ठूलो योगदान पुर्याउँछन् ।
विद्यालयले गुणस्तरीय शिक्षासँगै विद्यार्थीको समग्र विकासमा जोड दिँदै विभिन्न प्रकारका प्रायोगिक, सहपाठ्य र अतिरिक्त क्रियाकलापहरू निरन्तर सञ्चालन गर्दै आएको रानाले बताए । यस्ता कार्यक्रमले विद्यालयको शैक्षिक प्रतिष्ठा मात्र बढाउने नभई विद्यार्थीहरूको यादगार जीवनानुभूति निर्माणमा पनि उल्लेखनीय भूमिका खेलेको बनभोज कार्यक्रमका सहभागीहरू बताउँछन् ।
वनभोज (पिकनिक) कार्यक्रममा विद्यार्थी र शिक्षक समूहगत रमाइलो, गीत–संगीत गतिविधि तथा विभिन्न प्रस्तुतिहरू मार्फत खुसीयालीमा डुबेको माहोल सिर्जना भएको थियो । हाँसीखुसी, आपसी सद्भाव र मित्रताको वातावरणले सम्पूर्ण कार्यक्रम आकर्षक बनेको सहभागीहरूले बताए ।
बनभोज कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री सतगुर प्रसाद बर्मा, शिक्षा, युवा तथा खेलकुद शाखाका अधिकृत कृष्णा कुमारी भण्डारी, प्राविधिक सहायक झुमी कुमारी वली, जानकी गा.पा. वडा नम्बर १ का अध्यक्ष मो. रजा राई, जिन्सी शाखा प्रमुख राजु यादव, सामाजिक विकास समितिका संयोजक रामअचल धोबी, खजुरा गा.पा. वडा नम्बर १ का अध्यक्ष मानबीर क्षेत्री, विद्यालयका पुर्व प्रधानाध्यापक द्रोण थापा, शिक्षक, विद्यार्थी र कर्मचारी लगायतको उपस्तिथि रहेको थियो ।


