नेपालगन्ज । बाँकेमा अत्यधिक चिसो बढेपछि नेपालगञ्जका सामुदायिक, संस्थागत र धार्मिक विद्यालयमा शुक्रबारदेखि चार दिनसम्मका लागि सार्वजनिक बिदा दिइएको छ ।
८औं विद्यालय स्तरीय मेयर कप तथा राष्ट्रपति रनिङ्गशिल्ड खेलाडी छनौट खेलकुद प्रतियोगिता र हाल अत्यधिक चिसो मौसमका कारण बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्ने समेत देखिएकाले पौष ११ गतेदेखि १४ गतेसम्म सार्वजनिक बिदा दिइएको हो ।
नेपालगन्ज उपमहानगरपालिकाको आयोजना तथा प्याबसन नेपालगन्जको व्यवस्थापनमा प्रतियोगिता सञ्चालन हुने भएकाले सामुदायिक, संस्थागत र धार्मिक विद्यालयमा जाडो बिदा दिइएको शिक्षा, युवा तथा खेलकुद महाशाखाका उपसचिव गार्खबहादुर थापाले एक सूचना प्रकाशित गरि जानकारी दिइएका हुन ।
नेपालगञ्जमा एक सातायता शीतलहर चलेसँगै चिसो अत्यधिक बढेको छ । शीतलहरसँगै लागेको हुस्सु र कुहिरोका कारण विद्यार्थीलाई विद्यालय जान आउन र विद्यालयमै बस्न अप्ठ्यारो भइरहेको जनगुनासो आएपछि विद्यालयमा बिदा दिइएको छ । बाँकेमा निरन्तर पाँच दिनदेखि शीतलहरसँगै कुहिरो र हुस्सु लाग्नाले जनजीवन प्रभावित भएको छ ।

