नेपालगञ्ज । लैङ्गिक हिंसाको स्वरुप र चुनौती बढेसँगै यसको रोकथाम र न्यूनीकरणका लागि पनि सामुहिक सहकार्यको आवश्यक्तामा जोड दिइएको छ । सामाजिक विकास मन्त्रालय महिला समुत्थान परियोजनाद्वारा आज नेपालगञ्जमा आयोजित अन्तरक्रिया कार्यक्रमका वक्ताले सो कुरामा जोड दिएका हुन् । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तगर्त आज मानअधिकारकर्मी, शिक्षक, जनप्रतिनीधी, नागरिक समाजका अगुवा लगायतको उपस्थितीमा अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
सामाजिक विकास मन्त्री जन्मजय तिमील्सेनाले लैङ्गिक हिंसा मानवअधिकार र कानून उल्लघंनको विषयमा मात्र नभई शान्ति र सामाजिक विकासको अवरोध पनि भएकाले यसलाई समयमै नियन्त्रण र न्यूनीकरण गर्नु पर्नेमा जोड दिनुभयो । लैङ्गिक हिंसा परिवारभित्रबाटै शुरु हुने भएकाले परिवारमै शान्ति कायम राख्नु पहिलो दायित्व हुनुपर्ने पनि उहाँले औल्याउनु भयो । मन्त्री तिमील्सेनाले अभिभावकले अब बालबालिकालाई शिक्षासँगै संस्कार पनि सिकाउन जरुरी रहेको बताउनु भयो ।
मन्त्रालयका महिला विकास महाशाखा प्रमुख सम्झना सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाँकेका तर्फबाट प्रहरी निरिक्षक रमेश विष्ट, लुम्बिनी प्राविधिक विश्व विद्यालयका उपप्राध्यापक प्रतिक चन्दले लैङ्गिक हिंसाका विविध स्वरुप, चुनौती र न्यनीकरणमा निर्वाह गर्नु पर्ने उपाय लगायतका विषयमा प्रस्तुतीकरण गर्नु भएको थियो ।
सामाजिक विकास मन्त्रालयका उपसचिव ऋषि शर्माद्धारा स्वागत गरिएको कार्यक्रममा प्रदेश सभा सदस्य सञ्जु चौधरी, सुशिला नेपाली, जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्र चौधरी, लुम्बिनी प्राविधिक विश्व विद्यालयका उपकुलपति विनोद ढकाल, लुम्बिनी प्रदेश प्रहरी प्रमुख राजेन्द्र श्रेष्ठ, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाई, नेपालगञ्ज उप-महानगरपालिका प्रमुख प्रशान्त विष्ट लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।


