काठमाण्डौ । साउदी अरेबियाको मक्का शहरबाट मदिना जाँदै गरेको भारतीय तिर्थयात्रु बस एक तेल ट्याङ्करसँग ठोक्किएर बसमा आगलागी हुँदा ४२ जना उमराह तिर्थयात्रुको मृत्यु भएको छ ।
प्रारम्भिक रिपोर्टहरूमा दाबी गरिए अनुसार, दुर्घटनामा परि मृत्यु हुनेमा २० महिला र ११ बालबालिका रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ । उनीहरु सबै भारतको तेलंगानास्थित हैदराबादका हुन् ।
यो दुर्घटना मदिना शहरबाट करिब १ सय ६० किलोमिटर टाढा मुहरास नजिकै भारतीय समयअनुसार सोमबार राति करिब साढे १ बजे भएको थियो । त्यस समयमा धेरै यात्रुहरू सुतिरहेका थिए, जसले गर्दा ठोक्किएपछि बसमा आगो लाग्दा मानवीय क्षति बढेको हो ।
तेलंगाना सरकारले रियादस्थित भारतीय दूतावासको लगातार सम्पर्कमा रहेको बताएको छ । राज्य सरकारले जारी गरेको विज्ञप्तिमा मुख्यमन्त्री रेवन्त रेड्डीले दिल्लीमा रहेका अधिकारीहरूलाई दूतावाससँग समन्वय गरेर पीडितहरूको पहिचान र अन्य औपचारिकताहरूमा सहयोग गर्न निर्देशन दिएका छन् ।


