Close sidebar

नेपाल प्रहरीको ३३औं (आईजीपी)मा कार्की नियुक्त, साढे २ वर्ष सम्हाल्नेछन् प्रहरीको कमाण्ड

२०८२ कार्तिक २६ गते, मंगलवार ०२:५२

काठमाडौं । नेपाल प्रहरीको ३३ औं महानिरीक्षक (आईजीपी)मा दानबहादुर कार्की नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई नेपाल प्रहरीको नेतृत्व सम्हाल्ने जिम्मेवारी दिएको हो ।

प्रहरी नियमावलीमा उल्लेख अनुसार ३० वर्षे सेवा अवधिका कारण वर्तमान आईजीपी चन्द्रकुवेर खापुङ २६ कात्तिक राति १२ बजेबाट अनिवार्य अवकाशमा जाँदैछन् । त्यसअघि नै सोमबार सरकारले नयाँ महानिरीक्षक नियुक्त गरेको हो ।

आईजीपी कार्कीले अब २७ कात्तिकबाट प्रहरीको नेतृत्व सम्हाल्नेछन् । प्रहरी संगठनमा इमान्दार प्रहरीको रुपमा चिनिने काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत कार्की आईजीपीको पहिलो दाबेदार थिए ।

२०५४ साल चैत्र १८ गते प्रहरी निरीक्षक (इन्सपेक्टर)को रुपमा कार्की भर्ना भएका थिए । जसअनुसार विद्यमान प्रहरी नियमावलीमा भएको ३० वर्षे सेवा अवधिका कारण उनी करिब साढे २ वर्ष प्रहरीको नेतृत्व सम्हाल्नेछन् ।

उनले १७ चैत २०८४ सम्म प्रहरीको नेतृत्व सम्हाल्नेछन् । कार्की २६ मंसिर २०६६ मा डीएसपीमा बढुवा भए । कार्कीले राजनीति शास्त्रमा स्नातकोत्तर गरेका छन् । पूर्वी टिमोरमा २ पटक र हाइटीमा १ पटक मिसन गएका छन् ।

भदौ २४ गते जेनजी आन्दोलन हुँदा कार्कीले उपत्यकाको कमाण्ड सम्हालेका थिए । २३ भदौमा भने उपत्यकाको कमाण्ड एआईजीविहीन थियो । उपत्यका कमाण्ड सम्हाल्नुअघि उनी प्रहरी प्रधान कार्यालयस्थित मानव स्रोत विभागको प्रमुख थिए ।

डीआईजी हुँदा भने उनले लुम्बिनी प्रदेशको कमाण्ड सम्हाले । एसएसपीको जिम्मेवारीमा उनले काठमाडौं जिल्ला प्रहरी परिसरको कमाण्ड सम्हाल्दा भुटानी शरणार्थी प्रकरणको मुद्दा चलेको थियो ।

कुनै ठूलो आर्थिक विवादमा नमुछिएका कार्कीसँग फिल्डदेखि आईजीपी सचिवालयसम्म बसेर काम गरेको अनुभव छ । विदेशमा विभिन्न तालिम लिइसकेका उनी नेपाल प्रहरीको केन्द्रीय प्रवक्ता समेत भएका थिए ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया