नेपालगन्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले ट्राफिक नियम विपरीत कार्य गर्ने सवारीसाधनमाथि बुधबारबाट कारबाही सुरु गरेको छ । स्यालेन्सरबाट चर्को आवाज अर्थात ठूलो साउण्ड निकाल्ने र मोडिफाई गरेका मोटरसाइकलमाथि कारबाही सुरु गरेको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेमा भर्खरै नयाँ ट्राफिक प्रमुखका रूपमा कमाण्ड संभालेका प्रहरी निरीक्षक कनक शाहीले ट्राफिक व्यवस्थापन कार्यमा योजना बनाएर कडाइसाथ लागु गर्ने बताए । योजना अनुसार नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रका विभिन्न स्थानमा चेक-जाँचका क्रममा नियम विपरीत मोटरसाइकलमा स्यालेन्सर परिवर्तन गरेको पाइएमा सवारीसाधन नियन्त्रण लिने अभियान सञ्चालनमा ल्याएको जानकारी दिए ।
प्रहरी निरीक्षक शाहीले नागरिकलाई असजिलो नहोस् भन्ने उद्देश्यले मोटरसाइकलमा ठूलो आवाज निकालने र स्वरूप परिवर्तन गर्ने सवारीलाई नियन्त्रण लिने अभियान थालेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जनाएको छ । अवैध मोटरसाइकल स्यालेन्सर स्वरूप फेरिएमा सवारीसाधन जफत गरी जरिवाना गरिने छ । ट्राफिकले नियम विपरीत कार्य गर्ने जो–कोहीमाथि कानूनी कारबाही गर्ने चेतावनी दिएको छ ।

