काठमाडौं । ‘राष्ट्र, राष्ट्रियता, धर्म-संस्कृति र नागरिक बचाऊ’ अभियानका संयोजक दुर्गा प्रसाईंले मंसिर ७ गतेदेखि देशव्यापी आन्दोलन गर्ने घोषणा गरेका छन् ।
बुधबार राष्ट्रिय मानव अधिकार आयोगका पदाधिकारीसँगको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रसाईंले मंसिर ७ गतेदेखि मेचीदेखि महाकालीसम्मका क्षेत्र बन्द गर्ने बताएका हुन ।
मंसिर ७ गते नै दिल्लीमा दलहरू र माओवादीबीच १२ बुँदे सम्झौताका कारण मुलुक अप्ठ्यारो अवस्थामा आइपुगेको जिकिर गर्दै उनले मंसिर ७ गतेदेखि नै आन्दोलन सुरू गर्न लागेको बताए ।
आफ्नो आन्दोलन जेन-जीको जस्तो हिंसात्मक नहुने प्रस्ट पार्दै प्रसाईँले भने, ‘हाम्रो आन्दोलन बन्दुक, बारुद बोकेर आउने, सिंहदरबारमा आगो लगाउने वा नागरिकका घर-व्यवसाय तोडफोड गर्ने किसिमको होइन।’
आन्दोलन शान्तिपूर्ण हुने र कसैले घुसपैठ गरे वा बन्द उल्लंघन गरेर तोडफोड गरेमा त्यसको जिम्मेवारी अभियानले नलिने उनले चेतावनी दिए ।
प्रसाईंले आन्दोलन सुरु हुन अझै २० दिनजति बाँकी रहेको भन्दै नागरिकलाई आवश्यक डिजेल, ग्यास र दैनिक उपभोग्य सामग्री पहिलेदेखि नै संकलन गर्न आग्रह गरे ।


