नेपालगन्ज । जिल्ला प्रशासन कार्यालय बाँकेका चर्चित प्रमुख जिल्ला अधिकारी (सिडियो) धर्मराज जोशीको सात महिनामै सरुवा भएको छ । उनको ठाउँमा नयाँ प्रमुख जिल्ला अधिकारी (सिडियो)को रुपमा दिल कुमार तामाङ्ग बाँके आउने भएका छन् ।
गृह मन्त्रालयले केही जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु सहित ३६ जना सहसचिवको सरुवा गर्दा बाँकेका प्रजिअ जोशीलाई उदयपुर जिल्ला प्रशासन कार्यालयमा सरुवा गरिएको हो । उनी २०८१ फाल्गुन २६ गतेबाट बाँके जिल्लाका प्रजिअ (सिडियो)को रुपमा जिम्मेवारी सम्हालिरहेका थिए ।
बाँकेसहित बर्दिया, रुपन्देही, डडेल्धुरा, ललितपुर र गोर्खाका प्रमुख जिल्ला अधिकारी (सिडियो)को सरुवा गरिएको छ । नयाँ सिडियोको रुपमा बाँके आउने तामाङ्ग यसअघि २०८१ चैत ११ गतेबाट कपिलवस्तु जिल्लाका प्रजिअ (सिडियो)को रुपमा जिम्मेवारी सम्हालिरहेका थिए ।



