मो. ताहिर शेष राई (साहिल)✍️
नेपालगन्ज । बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ५ मा रहेको आइशा मदरसातुल बनात बालिका माध्यमिक विद्यालयले ३ महिने आधारभूत कम्प्युटर शिक्षाको तालिम शुरु गरेको छ । मुस्लिम समुदायका बालिकाहरुले अध्ययन गर्ने सो मदरसामा जिल्लामै पहिलो पटक कम्प्युटर शिक्षाको तालिम शुरु गरेको हो ।
आइशा मदरसातुल बनातले शनिबार एक औपचारिक कार्यक्रमको आयोजना गरि कुरआनको तिलावत (वाचन)बाट कम्प्युटर तालिमको उद्घाटन गरेका थिए । आइशा मदरसातुल बनातका संस्थापक एवं सचिव तथा कार्यक्रमका प्रमुख अतिथि मो. असलम हलवाईले रिबन काटेर कार्यक्रमको सुरुवात गरेका थिए ।
कार्यक्रममा बोल्दै हल्वाईले मदरसा शिक्षालाई आधुनिकीकरण बनाउनका लागि सो मदरसाले यस जिल्लामा पहिलो पटक यस्तो शिक्षा सञ्चालनमा ल्याएको बताउनुभयो । उहाँले सहभागी विद्यार्थीको उज्ज्वल भविष्यको कामना समेत गर्नुभयो ।
यस्तै विद्यालयका कोषाध्यक्ष मो. आलमीन राई, प्रधानाध्यापक कश्फु खान, कम्प्युटर प्रशिक्षक शकील अहमद राई लगायत आधादर्जन भन्दा बढी वक्ताहरुले बोलेका थिए । यसैबीच कक्षा नौ र दशका विद्यार्थीहरुले तिलावते कुरआन, वक्तित्वकला, हम्दोसना (नात सरीफ) लगायत मीठो स्वरमा प्रस्तुत गरेका थिए ।
विसं २०६३ सालमा धार्मिक विद्यालय (मदरसा)का रुपमा स्थापना भएको मा.वि सरहको सो मदरसामा उर्दु-अर्बीका साथै नेपाली, अंग्रेजी, गणित, सामाजिक, विज्ञान लगायत विषयमा छात्राहरुले शिक्षा प्राप्त गर्दै आएका छन् , भने अब कम्प्युटर शिक्षाको समेत अध्ययन गर्न पाउने छन ।
विद्यालयमा हाल करीब ६७८ मुस्लिम छात्राहरुले पठनपाठन गर्दै आएको विद्यालयका प्रधानाध्यापक खानले बताए । विद्यालयका प्रधानाध्यापक कश्फु खानको अध्यक्षतामा भएको कार्यक्रमको सन्चालन शिक्षक जिनत हलवाईले गर्नुभएको थियोे । कार्यक्रममा शिक्षक, अभिभावक तथा विद्यार्थी लगायतको उपस्तिथि थियो ।





