काठमाडौँ । अन्तिम ओभरमा दीपेन्द्र सिंह ऐरी चम्किँदा नेपालले आईसीसी टी–ट्वान्टी विश्वकप एसिया र इस्ट एसिया छनोटको सुपर सिक्सको आफ्नो पहिलो खेलमा नेपाल यूएईमाथि १ रनको रोमाञ्चक जित निकालेको छ ।
आइतबार भएको खेलमा नेपालले दिएको १४१ रनको लक्ष्य पछ्याएको यूएईले २० ओभरमा ९ विकेट गुमाएर मात्र १३९ रन बनायो । यूएईका लागि अलिशान शराफुले ५८ रनको अर्धशतकीय पारी खेले पनि जित दिलाउन सकेनन् , ४० बल खेलेका उनले ३ चौका र ५ छक्का प्रहार गरे । त्यस्तै ध्रुव प्रशारले पनि ३२ रन बनाउँदा जोनाथन फिगी १९ रन बनाए ।
नेपालका लागि ऐरीले सर्वाधिक तीन विकेट लिए । त्यस्तै सोमपाल कामी, गुलशन झा र सन्दीप लामिछानेले एक–एक विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ओपनर आसिफ शेखको अर्धशतकको मद्दतमा २० ओभरमा ६ विकेट गुमाएर १४० रन बनाएको थियो ।
आसिफ शेखले ४७ बल खेलेर ४ चौका र १ छक्का प्रहार गरे । त्यस्तै कुशल भुर्तेलले २८ रन बनाउँदा रोहित कुमार पौडेलले २० रनको योगदान गरे । नेपालका गुलशन झाले ४ बलमा १४ रन बनाए पाँचौँ बलमा आउट भए भने कुशल मल्लले मात्र १० रन बनाए ।
यूएईका लागि बलिङतर्फ जुनाइद सिद्धकी, मोहम्मद रोहिद, हाइदर अली, हर्सित कौसिक, जहिद अली र ध्रुव प्रशारले एक–एक विकेट लिए । आजको खेलको म्यान अफ द म्याच दीपेन्द्र सिंह ऐरी भए । आजको जितसँगै नेपालले सुपर सिक्समा १ खेलबाट ४ अंक जोडेको छ ।



