नेपालगन्ज । निजिकिंदै गरेका चाडपर्वका बेला वडा प्रहरी कार्यालय नेपालगञ्जले शान्ति, सुरक्षा र सुव्यवस्था कायम गर्न नागरिकलाई सजगता अपनाउन आग्रह गरेको छ । प्रहरीले महान् चाड दीपावली, तथा छठपर्व लगायत नेपाल संवत ११४६ का बेला शान्ति, सुरक्षा र सुव्यवस्था कायम गर्न सर्वसाधारण नागरिकहरुलाई सचेत रहन आग्रह गरेको हो ।
वडा प्रहरी कार्यालय नेपालगन्जले एक विज्ञप्ति प्रकाशित गरि चाडका बेला कुनैपनि अप्रिय घटना नघटोस भन्ने उद्देश्यले शान्ति, सुरक्षा र सुव्यवस्था कायम गर्न सर्वसाधारणहरूलाई विभिन्न सावधानी अपनाउन अपील गरेका हुन ।
प्रहरीले सवारीसाधन सीमित गतिमा मात्र चलाउन र मादकपदार्थ सेवनगरी सवारी नचलाउन अनुरोध समेत गरेको जनाएको छ । सर्वसाधारणलाई यात्राका दौरान कुनैपनि अप्रिय घटना तथा समस्यामा परेकाले नजिकको प्रहरीलाई तुरुन्त खबर गर्न आग्रह गरेको छ ।
वडाले समाजमा होहल्ला, झगडा, जुवा-तास जस्ता गतिविधि नगर्न तथा सार्वजनिक स्थान र सडकमा शंकास्पद वस्तु एवं गतिविधि देखे प्रहरीलाई जानकारी गराउन सर्वसाधारणलाई अनुरोध गरेका हुन । चाडपर्वमा लामो समय घर बन्द राख्दा अथवा पैसा, गरगहना जस्ता अमुल्य वस्तु छोड्दा पनि नजिको प्रहरीलाई जानकारी गराउन समेत विज्ञप्तिमा लेखिएको छ ।
विज्ञप्तिमा आतिशबाजी, पटका, बिस्फोटक पदार्थ तथा अशान्ति फैलाउने कार्य नगर्न, ठूलो आवाजमा साउन्ड सिस्टम वा स्पिकर बजाएर ध्वनि प्रदूषण नगर्न अथवा बजारमा कृत्रिम अभाव तथा कालोबजारी जस्ता अस्वभाविक मूल्य सिर्जना नगर्न व्यापारीलाई पनि प्रहरीले सचेत गराइएको छ ।
प्रहरीले चाडपर्वको नाममा धार्मिक, जातीय र सामाजिक सद्भावमा खलल पुर्याउने उद्देश्यका साथ कुनैपनि कार्य नगर्न आग्रह गरेका छ । दीपावलीका बेला दियो, मैनबत्ती तथा झिलिमिली बत्ती तथा बिजुली उपकरण प्रयोग गर्दा सावधानी अपनाउन पनि जनाएका । प्रहरीले जनसहयोग र आपतकालीन अवस्थाका लागि प्रहरीको आपतकालीन नम्बर १०० र मोबाइल नम्बर ९८५८०८०९९९ र कार्यालय प्रमुखको सम्पर्क नम्बर ९८५८०८०९९८ सार्वजनिक गरिएको छ ।



