काजल मिर्जा✍️
नेपालगन्ज । शहीदहरुको सम्झनामा मुस्लिम धर्मावलम्बीले मनाइने मोहर्रम हिजोदेखि औपचारिक रूपमा शुरु भएको छ । इराकस्थित कर्बलामा १४ सय वर्ष पहिले हजरत इमामे हुसेनले इस्लाम धर्मलाई बचाउन आफूसहित ७२ जनाको परिवारले प्राण आहुति दिएको सम्झना स्वरूप मुस्लिम धर्मावलम्बीले प्रत्येक वर्ष मनाउँदै आएका मोहर्रम मंगलबार देखि शुरु भएको हो ।
ईस्लामिक क्यालेन्डरको पहिलो महिना मोहर्रमको पाचौं दिन मंगलबार मध्यरात नेपालगन्जको फुल्टेक्रा, एकलैनी, धम्बोजी र एमपी स्कुल रोडबाट निस्किएको झ्याकी सहितको ठेला, हुसैनी जुलूस जोलहनपुर्वा हुँदै त्रिभुवन चोकमा ढोल मिलान गरि समापन गरिएको थियोे ।
यस्तै मोहर्रमको छैठौ दिन आज मेहंदी जुलुस निकालिने छ । नेपाल मोहर्रम तथा कर्बला संरक्षण समितिका अध्यक्ष मेराज अहमद हल्वाईका अनुसार नेपालगञ्जको फुल्टेक्रा, धम्बोझी र जोलहनपुर्वाबाट निस्कने मेंहदी जुलुस त्रिभुवन चोकमा एकिकृत भई मिलान हुनेछ ।
त्यस्तै भोलि बिहिवार सातौ दिन अलम मिलान र शुक्रबार आठौं दिन ऐतिहासिक भव्य जुलूस परम्परा अनुसार भइरहेको कार्यक्रम जन्जीरको महतम र आगोको महतमको सथै अन्य कार्यक्रम हुनेछ ।
यसैगरी नवौ दिन शनिबार बिभिन्न ठाउँमा परापूर्वकालदेखि राख्दै आएका मनौतिका ताजियाहरु बिभिन्न स्थानमा राखि परिक्रमा गर्दै दशौ दिन आइतबार सम्पुर्ण ताजियालाई एकिकृत गरि नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ६ स्थित कर्बलामा ताजिया सेलाउने कार्यक्रम रहेको छ । स्मरणीय रहोस् मोहरर्म पर्वको रुपमा नभएर दु:खको महिना भएको धार्मिक अगुवाहरु बताउँछन् ।


