नेपालगन्ज । कर्णाली विकास बैंकका पूर्वअध्यक्ष पशुपति दयाल मिश्र पक्राउ परेका छन । नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहेका मिश्र बैंकमा रकम अपचलन प्रकरणमा पक्राउ परेका हुन ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबीले) मिश्रलाई बुधबार नेपालगन्जबाट पक्राउ गरेको हो । पक्राउ गरे लगतै मिश्रलाई जिल्ला प्रहरी कार्यालय बाँकेमा बुझाइएको छ ।
विसं २०६० सालमा स्थापना भएको कर्णाली विकास बैँकमा अहिलेसम्म दुई अर्ब ५० करोड रुपियाँ हिनामिना भएको भन्दै उजुरी परेको छ । मिश्र विसं २०६६ सालदेखि २०७५ सालसम्म बैंकका अध्यक्ष थिए ।
मिश्रसँगै यो ठगी प्रकरणमा पक्राउ पर्नेको सङ्ख्या तीन पुगेको छ । यसअघि बैँकका तत्कालीन वित्त प्रमुख देवप्रकाश सिंह ठकुरी र बैँकका संस्थापक अध्यक्ष राजेन्द्रवीर रायलाई पनि पक्राउ गरेर अनुसन्धान अघि बढाइएको छ ।

