काठमाडौं । भारतको गुजरातस्थित अहमदाबाद विमानस्थलबाट उडेको एयर इन्डियाको विमान दुर्घटना हुँदा त्यसमा सवार सबै २४२ जनाको मृत्यु भएको छ । समाचार एजेन्सी एपीले गुजरातका प्रहरी कमिश्नरलाई उद्धृत गर्दै विमानमा सवार कोही पनि जीवित नरहेको पुष्टि गरेको हो ।
स्थानीय समयअनुसार बिहिवार दिउँसो १:३८ बजे बेलायतको राजधानी लन्डनका लागि एयर इन्डियाको उडान संख्या एआइ-१७१, बोइङ ७८७ विमान उडान भरेको थियो र त्यसको दुई मिनेटपछि नै १:४० बजे दुर्घटनाग्रस्त भएको थियो । विमानमा १६९ भारतीय, ५३ बेलायती, ७ पोर्चुगिज र एक क्यानेडियन नागरिकसहित कुल २३० जना यात्रु र १२ जना चालक दलका सदस्य थिए ।
दुर्घटनास्थलबाट निकालिएका अधिकांश शवहरू नराम्ररी जलेको अवस्थामा भेटिएका छन्, जसकारण उनीहरूको पहिचान गर्न अत्यन्तै कठिन भइरहेको छ । अधिकारीहरूका अनुसार, शवहरूको पहिचान अब डीएनए परीक्षणपछि मात्र सम्भव हुनेछ ।
विमान विमानस्थल नजिकै रहेको सिभिल अस्पतालका डाक्टरहरू बस्ने आवासीय भवनमा ठोक्किएको थियो । जानकारी अनुसार, दुर्घटनाको समयमा भवनमा ५० देखि ६० जना डाक्टरहरू थिए । जसमध्ये १५ भन्दा बढी घाइते भएका छन् ।