Close sidebar

गुजरात जहाज दुर्घटनाः हालसम्म १०० जनाको शव

२०८२ जेष्ठ ३० गते, बिहीबार १७:०१

काठमाडौँ । भारतको गुजरातमा आज भयानक हवाई जहाज दुर्घटना भएको छ । गुजरातस्थित अहमदावाद विमानस्थलबाट बेलायतको राजधानी लन्डनका लागि उडान भरेको एयर इन्डियाको एआई–१७१ उडान नम्बरको जहाज उडेको दुई मिनेटमै दुर्घटनामा परेको हो ।

जहाज भारतीय समयअनुसार विमानस्थलबाट १ बजेर ३८ मिनेटमा उडेको र त्यसको दुई मिनेटमै दुर्घटनाग्रस्त भएको भनिएको छ । सार्वजनिक तस्बिर र भिडिओअनुसार जहाजले विमानस्थलबाट टेक–अफ लिएपछि जति उचाई लिनुपर्ने हो, त्यति लिन नसकेको देखिएको छ । त्यसपछि बिस्तारै तलतल हुँदै छेकिएको र एकाएक कालो धुँवाको मुस्लो निस्किएको दृश्यमा देखिन्छ ।

दैनिक भाष्करले हालसम्म १०० जनाको शव निकालिएको अपुष्ट खबर प्रकाशन गरेको छ । निकालिएका शवहरू पूर्ण रूपमा जलेको तस्बिरमा देख्न सकिन्छ । जहाज सहरी क्षेत्रमै खसेकाले ठुलो क्षतिको अनुमान गरिएको छ । यद्यपि हालसम्म पूर्ण विवरण भने आइसकेको छैन ।

अहिले उक्त क्षेत्रमा हज्जारौँ उद्धारकर्मी, सयौँ दमकल र एम्बुलेन्स पनि परिचालन गरिएको भनिएको छ । जहाजमा २४२ जना सवार थिए । जसमा २३० जना वयस्क यात्रु, दुई नवजात शिशु र १० जना उडान दलका सदस्य थिए ।

विमानको मुख्य पाइलट सुमित सभरवाल र को–पाइलट क्याइब कुन्दर रहेको बिबिसी हिन्दीले लेखेका छ । जहाजमा १६९ जना भारतीय, ५३ जना बेलायती, १ क्यानडेली र ७ पोर्चुगिज नागरिक सवार रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । दुर्घटनामा परेको जहाज साढे ११ वर्ष पुरानो रहेको भारतीय सञ्चारमाध्यमले लेखेका छन् ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया