नेपालगञ्ज । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० को वार्षिक योजना तर्जुमा एवं वडा भेला बुधबार सम्पन्न भएको छ । आर्थिक वर्ष ०८२/०८३ को लागि प्रस्तावित योजना, कार्यक्रम संकलनका लागि गरिएको भेलामा आर्थिक वर्षको सार्वजनिक सनुवाई एवं वार्षिक प्रगति समिक्षा पनि गरिएको थियो ।
नेपालगन्ज विद्युत रोडस्थित आरबी ब्याङ्कीट हलमा संचालन गरिएको भेलामा वडा सचिव शान्ता घर्तीकाअनुसार नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० मा एक करोड ५ लाख ५० हजारको बजेट सिलिङ नेपालगन्ज उपमहानगरपालिकाबाट प्राप्त भएको छ । कार्यक्रम सञ्चालिका समेत रहनुभएकी वडासचिव घर्तीले आर्थिक वर्ष २०८१/०८२ मा सम्पन्न भएका समग्र योजना र आगामी कार्यक्रम तथा योजनाबारे पनि प्रकाश पार्नु भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि एवं राप्रपा बाँके अध्यक्ष नरेन्द्र राज पौडेलले स्थानीय विकासको सवालमा राजनीतिक दलहरु एक हुनु पर्नेमा जोड दिँदै सामुहिक हातेमालोे नै समग्र विकास र समृद्धिको आधार भएको उल्लेख गर्नु भयो । वडावासीले जनप्रतिनिधि माथि गुनासो मात्र नभई रचनात्मक सुझाव र साथ दिन पनि उहाँले आहवान गर्नु भयो ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० का अध्यक्ष श्रवण कुमार श्रेष्ठले स्थानीयको माग र आवश्यकता अनुसार नै आगामी कार्यक्रम र योजना सम्पन्न गरिने बताउनुभयो । वडा सदस्य विना थापामगरले स्वागत मन्तव्य व्यक्त गर्नु भएको कार्यक्रममा वडा सदस्य दिपेन्द्र श्रेष्ठले सहभागीका तर्फबाट उठाइएका जिज्ञाशाको जवाफ दिँदै समग्र विकास बारे जानकारी दिनुभयो ।
यस्तै वडा नम्बर १० का वडा सदस्य भरत शाहीले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो, भने शहरी स्वास्थ्य केन्द्रका स्वास्थ्य अधिकृत भागीराम चौधरीले स्वास्थ्य सेवा र प्रगती बारे वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । सहभागीहरुले आर्थिक वर्ष २०८२।०८३ को लागि आफ्नो योजना लिखित तथा मौखिक रुपमा प्रस्तुत गरेका थिए ।
जनप्रतिनिधि, वडाका कर्मचारी, राजनीतिककर्मी, टोल विकास संस्थाका अध्यक्ष, नागरिक समाजको अग्रज, जेष्ठ नागरिक, बालबालिका, समाजसेवी लगाएतको सहभागिता रहेको वडा भेलामा सडक निर्माण, ग्रावेल, नाला निर्माण, सरसफाई, बत्ति व्यवस्थापन आदि विषयलाई प्राथमिकतामा राख्न माग गरिएको छ ।


