नेपालगन्ज । अत्यधिक गर्मीको कारण नेपालगन्ज उपमहानगरपालिकाले नगर भित्रका सबै विद्यालयमा एक हप्ताको लागि गर्मी बिदा दिने निर्णय गरेको छ । जेठ २५ गते आइतबार देखि लागू हुने गरी जेठ ३० गते शुक्रबार सम्मका लागि विद्यालय बन्द रहने निर्णय गरेको हो ।
हालको तीव्र तापक्रमले विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भएकाले सावधानी स्वरूप एक हप्ते गर्मी बिदा दिने निर्णय गरिएको वरिष्ठ शिक्षा अधिकृत लोकेन्द्र बहादुर शाहीद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ । एक हप्तापछि मौसमको अवस्था हेरी विद्यालय खोल्ने वा नखोल्ने निर्णय पुनः जानकारी गराइने पनि सूचनामा उल्लेख छ ।
अत्यधिक गर्मीको कारण बालबालिकाको स्वास्थ्यमा असर पर्ने सम्भावना रहेकाले विद्यालय बन्द गर्नु उपयुक्त निर्णय भएको अभिभावक र शिक्षकहरुले उपमहानगरपालिकाको निर्णयको स्वागत गरेका छन् । गर्मी बढेसँगै घरमै रहने विद्यार्थीहरूलाई पर्याप्त पानी पिउन, चिसो स्थानमा बस्न, र धूपमा ननिस्कन स्वस्थ्यकर्मीहरुले सल्लाह समेत दिएका छन् ।