नेपालगन्ज । आइसिसी विश्वकप लिग टु अन्तर्गत नेपालले नेदरल्याण्डलाई पराजित गरी लगातार दोस्रो जित हात पारेको छ । स्कटल्याण्डको डुन्डीमा बुधबार अबेर राति सम्पन्न खेलमा आरिफ शेखको अर्धशतकीय पारीको बदौलत नेपालले नेदरल्याण्डलाई ५ विकेटले पराजित गरि जित हात पारेको हो । नेपालले पहिलो खेलमा सोमबार स्कटल्याण्डलाई १ विकेटले पराजित गरेको थियोे ।
१२६ रनको विजय लक्ष्य लिएर मैदानमा उत्रिएको नेपालले ४७.१ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा आरिफले महत्वपूर्ण ९९ बलमा ७ चौका र २ छक्काको सहयोगमा ७८ रनमा आउट भए । नेपाली टोलीका उपकप्तान दीपेन्द्र सिंह ऐरीले ६१ बलमा ३ चौकाको सहयोगमा नट-आउट ३८ रन बनाए । पाँचौ विकेटका लागि आरिफ र दीपेन्द्रले ८९ रनको महत्वपुर्ण साझेदारी गरे ।
नेपालका ओपनर कुशल भुर्तेलले ४२ बलमा ३ चौकाको सहयोगमा २५ रन जोडे । कप्तान रोहित पौडेल ३९ बलमा १ चौकाको सहयोगमा २३ रनमा आउट भए । अर्का ओपनर आसिफ शेख २२ बलमा ३ चौकाको सहयोगमा १९ रनमा आउट भए । भीम सार्की २६ बलमा १ चौकाको सहयोगमा ११ रनमा आउट भए ।
नेदरल्याण्डका लागि माइकल लेभिटले २ तथा भिभियन किंग्मा र पल भान मेकरेनले समान १/१ विकेट लिए । टस जितेर पहिले ब्याटिङ रोजेको नेदरल्याण्ड ४९.१ ओभरमा २ सय २५ रनको योगफलमा समेटियो । नेदरल्याण्डका लागि नोहा कोर्सले ५५ बलमा ५ चौकाको सहयोगमा सर्वाधिक ४८ रन बनाए । ८औं विकेटका लागि कोर्स र रोलेफ भान डर मिर्वोले ५५ रनको साझेदारी गर्दै टोलीलाई मध्यम योगफल सम्म पुर्याए । मिर्वो २२ बलमा २१ रन बनाउँदै रन-आउट भए ।
कप्तान स्कट एडवार्डसले ७१ बलमा ४ चौकाको सहयोगमा सर्वाधिक ४६ रन जोडे । ४६ रन जोड्दै कप्तान एडवार्डस ललित नारायण राजवंशीको बलमा रोहित पौडेलबाट समातिए । उत्कृष्ट सुरुवात गरेको नेपालले ५ ओभर भित्र नेदरल्याण्डका दुवै ओपनर माइकल लेभिट र म्याक्स ओ डाउडलाई सस्तैमा आउट गरेको थियो ।
नेपाल पहिलो विकेटका रुपमा इनिङको दोस्रो ओभरको पहिलो बलमा सोमपाल कामीले लेभिटलाई १ रन जोडेको अवस्थामा आउट गरे । नेपालले दोस्रो विकेटका रुपमा अर्का ओपनर म्याक्स ओ डाउडलाई ४ रनमा आउट गरायो । पाँचौ ओभरको पाँचौ बलमा म्याक्स करण केसीको बलमा बोल्ड आउट भए । दोस्रो विकेट लिएको १ सय १ बलपछि नेपालले तेस्रो सफलता पाएको थियो ।
तेस्रो विकेटका रुपमा नेदरल्याण्ड्सले विक्रमजित सिंहलाई ३८ रनमा गुमाएको थियो । सिंहले कप्तान एडवार्डससँग मिलेर तेस्रो विकेटका लागि ७७ रनको साझेदारी गरेका थिए । उक्त साझेदारी नेपालका लेग स्पिनर सन्दीप लामिछानेले तोडेका थिए । ज्याक लायन ३४ बलमा २७ रन बनाउँदै ललितको बलमा आउट भए । तेजा निदामनुरु २९ बलमा १३ रनमा सन्दीप लामिछानेको बलमा आउट हुन पुगे । नेपालका लागि सोमपालले ३, करण, ललित र सन्दीपले समान २/२ विकेट लिए ।
नेपाल १४ खेलमा १० अंकका साथ लिगको सातौं स्थानमा छ । भने, नेदरल्याण्ड २१ खेलमा २६ अंकसहित दोस्रो स्थानमा यथावत छ । ८ टोली सहभागी लिग टु ओडिआई विश्वकप २०२७ को छनोट प्रतियोगिता समेत हो । सन् २०२७ सम्म चल्ने लिगको अन्तिममा शीर्ष ४ मा रहने टोलीले विश्वकपको ग्लोबल छनोटमा सिधै स्थान बनाउने छन् । पुछारमा रहने ४ टोलीले भने विश्वकप छनोटको प्लेअफ खेल्नुपर्ने छ ।