Close sidebar

भोलीदेखि देशव्यापी सार्वजनिक यातायात सञ्चालन हुने

२०८२ जेष्ठ २१ गते, मंगलवार १४:३९

काठमाडौँ । सार्वजनिक यातायात व्यवसायी र सरकारी वार्ता टोलीबिच सोमबार राति सहमत भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा अबेर रातिसम्म चलेको तेस्रो चरणको वार्तापछि देशव्यापी सार्वजनिक यातायात बन्दको कार्यक्रम फिर्ता लिन सहमत भएको हो ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय बहादुर स्वाँरले रातो नम्बर प्लेटका सवारी साधनले पनि यात्रु बोक्न पाउने गरी गण्डकी प्रदेश सरकारले ल्याएको राइडसेयरिङ नियमावली स्थगन गर्न सङ्घीय सरकारले गण्डकी प्रदेश सरकारलाई अनुरोध गर्दै पत्राचार गर्ने निर्णय भएको बताउनुभयो । उहाँले गण्डकी सरकारले राइड सेयरिङसम्बन्धी नियमावली स्थगित गर्ने निर्णय गरेपछि देशव्यापी सार्वजनिक यातायात सञ्चालन गर्ने सहमति भएको जानकारी दिनुभयो ।

अध्यक्ष स्वाँरले गण्डकी प्रदेश सरकारले नियमावली पूर्णरूपमा फिर्ता नगरेसम्म आन्दोलन नरोकिने पनि स्पष्ट पर्नुभयो । संघ र प्रदेश सरकारले प्रक्रियागत विषयलाई फास्ट ट्र्याकबाट टुङ्ग्याउने प्रतिबद्धता जनाएकाले मङ्गलबार अपराह्नसम्ममा सार्वजनिक सवारी साधन चल्न सक्ने बताउनुभयो ।

सङ्घीय कानुन नबनेको र प्रदेशले आफ्नो आवश्यकता अनुसारको कानुन बनाउनु बाध्यता भएको जानकारी उहाँले दिनुभयो । अब छिट्टै सङ्घीय कानुन (छाता ऐन) बन्ने अवस्था रहेकोले यस्तो द्विविधा र अप्ठ्यारो नहुने स्पष्ट पर्नुभयो ।

राइड सेयरिङ नियमावलीको विरोधमा यातायात व्यवसायीले देशभर सार्वजनिक सवारी साधन बन्द गर्दै आन्दोलन गरेका थिए। गण्डकी प्रदेश सरकारले राइड सेयरिङ नियमावली ल्याएपछि यातायात व्यवसायीहरू ७ बुँदे मागसहित आन्दोलनमा छन् ।

नियमावली स्थगित भएसँगै अब देशभर यातायात सेवा सुचारु हुने अपेक्षा गरिएको छ। गण्डकी प्रदेशमा चार दिनदेखि सार्वजनिक यातायात ठप्प पार्दै आएका छन् भने सोमबारदेखि देशभरका यातायात ठप्प पारेका छन् ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया