नेपालगन्ज । गतवर्ष फागुन २८ गते चिसापानीस्थित कर्णाली पुल क्रस गर्दैगर्दा लाईटर बोकेको ट्रकमा आगलागी हुँदा पुलका १४ वटा केबुलमा क्षति पुगेको अहिले उक्त पुलको मर्मत कार्य भइरहेको छ ।
डिभिजन सडक कार्यालय नेपालगन्जले तीन साताअघि यातायात एकतर्फी सञ्चालन गरी क्षती पुगेको पुलको मर्मत कार्य सुरु गरिएको आगामी एक साताभित्र सम्पन्न गर्ने लक्ष्य रहेको डिभिजन सडक कार्यालय नेपालगन्जका प्रमुख नरेन्द्र भट्टले जानकारी दिए ।
उक्त पुलको मर्मत कार्य मर्मत सम्पन्न गर्न १० लाख रुपैयाँभन्दा बढी खर्च हुने उनले बताए । मर्मतका लागि निर्माण व्यवसायीबाट दुई र सडक कार्यालयका प्रमुखसहित चारजना प्राविधिक खटिएका छन् ।
०५१ साल मंसिर २८ गते उद्घाटन भएको चिसापानीको अत्याधुनिक कर्णाली पुलको स्टिल पार्टको रंगरोगन पुल महाशाखाले यसै आर्थिक वर्षमा गर्ने तयारी गरेको डिभिजनले जनाएको छ । एउटा मात्र टावर भएको , असमानुपातिक केबुल स्टेड प्रकारको यो पुल ५ सय मिटर लम्बाइको छ ।