नेपालगन्ज । अन्तर्राष्ट्रिय आमन्त्रण लुम्बिनी कपको आज हुने फाइनल खेलमा दुई विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लब र नेपाल पुलिस क्लब बीच कडा प्रतिस्पर्धा हुने भएको छ । उपाधीका लागि नेपालगन्ज रंगशालामा शुक्रबार दिउँसो ३ बजेदेखि शुरु हुने खेलमा दुबै टीमले जित्ने दाबी गरेका छन ।
नेपालगन्जमा बिहीबार पत्रकारहरुसंग कुरा गर्दे एपीएफ क्लबका कोच भगवती थापाले आफूहरुलाई खेल जित्नै पर्ने दबाब रहेको बताइन् । उनले प्रतिस्पर्धीलाई कमजोर ठान्न नहुने बताउँदै नतिजा आफूहरुले जित्ने दाबी गरिन् । यस्तै क्याप्टेन अनिता बस्नेतले खेल रोमाञ्चक हुने बताउँदै आफूहरु जित्नको लागि खेल्न लागेको प्रतिक्रिया दिइन् ।
नेपाल पुलिस क्लबका कोच सुमन सुवेदीले खेल जित्नको लागि रणनीति बनाएर अगाडी बढ्ने बताए । खेल जित्नको लागि तपाईहरुलाई चुनौती देखिएकै हो त ? भन्ने पत्रकारको प्रश्नको जवाफ दिँदै सुवेदीले भने, ‘फुटबलमा नजिता जस्तो पनि आउन सक्छ, राम्रो भनेको टिमले पनि कहिलेकाही नराम्रो खेल्न सक्न । अनि नराम्रो भनेको टिमले राम्रो पनि खेल्न सक्छ’। उनले आजको खेलमा राम्रो प्रस्तुति दिने जिकिर गरे ।
यस्तै क्याप्टेन निरु थापाले घरेलु मैदानमा आएर फाइनल खेल खेल्ने सपना पुरा भएजस्तै खेल जित्ने सपना पनि पुरा हुने बताइन् । फुटबल खेलमा महिला खेलाडीहरुको सहभागिता बढाउनका लागि नियमित तालिम तथा आवश्यक पर्ने व्यवस्थापकीय कामहरु गर्नुपर्ने सुझाव दिए । उनले निरन्तर खेल हुन सकेमा यस्ता प्रतियोगिताहरुको उचाई बढ्ने र उपलब्धी हासिल हुने प्रतिक्रिया दिइन् ।
कार्यक्रममा आज हुने फाइनल खेलका प्रतिस्पर्धी दुबै टिमका कोच र क्याप्टेनको सामुहिक तस्विर कैद गरिएको थियो । तस्विर कैद गरिरहँदा टिम कोच र क्याप्टेनहरुमा गम्भिरता र शुक्रबारका लागि तिब्र चिन्तनशिलता रहेको प्रष्ट देखिन्थ्यो । एपीएफ क्लबले कर्णालीलार्ई ६—० गोल अन्तरले र रौतहटलाई ३ —० ले हराउँदै फाइनलको यात्रा तय गरेको छ । यसैगरी नेपाल पुलिस क्लबले भारतीय टीम सिलुगुडीलाई ४—० ले र भिभुवन आर्मीलाई सडन डेथमा हराएर फाइनल यात्रा तय गरेको हो ।
अन्तरालको आयोजना तथा जिल्ला फुटबल संघको सहकार्यमा बैशाख ५ गतेदेखि जारी प्रतियोगिताको विजेता टिमले ५ लाख ५ हजार ५ सय ५५ रुपैयाँ र उपविजेता टिमले २ लाख ५० हजार रुपैयाँ, ट्रफी, मेडल र पुरस्कार प्राप्त गर्ने आयोजक अन्तरालले जनाएको छ । प्रतियोगितामा नेपाल र भारतका गरेर ८ वटा टिम सहभागी रहेको थियोे ।