नेपालगन्ज । जिल्ला प्रहरी कार्यालय, बाँकेले २०८१ चैत महिनामा सम्पादित प्रमुख कार्य प्रगति विवरण सार्वजनिक गरेको छ । प्रहरीले मंगलबार आफ्नो फेसबुक पेजमार्फत प्रमुख कार्य प्रगति विवरण सार्वजनिक गरेको हो ।
अपराध नियन्त्रण र कारवाही :
बाँके प्रहरीले सार्वजनिक गरेको चैत्र महिनाभर १३ लाख ५९ हजार ३ सय ५० बराबरको अबैध भन्सार छलिको सामान सहित ३ जना मानिस, १ जिप र ३ वटा मोटरसाईकल पक्राउ गरी सम्बन्धित निकाय पठाईएको जनाएको छ ।
प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार चैत्र महिनाभर ट्राफिक नियम उलंघन गर्ने सवारी साधन ३ हजार ७ सय २० वटालाई कार्वाही गरी २९ लाख ५८ हजार राजस्व संकलन भएको छ । त्यस्तै चैत्र महिनामा ७१ वटा सवारी दुर्घटनामा परेर ७ जनाको मृत्यु भएको छ, भने एक सय २० जना घाइते भएको सूचनामा उल्लेख छ ।
यस्तै बाँके प्रहरीले सो अवधीमा अवैध रुपमा नदिजन्य पदार्थ उत्खनन गर्ने १ वटा टिप्पर र ३ वटा ट्याक्टर नियनत्रणमा लिई सम्बन्धित निकायमा पठाई ८ हजार जरिवाना गराउन सफल भएको जनाएको छ । त्यस्तै प्रहरीले अवैध रुपमा भारतबाट ल्याईएका करिब ३ लाख ४ हजार ६ सय ३५ मुल्य बराबरको ब्रोईलर कुखुरा र मासू आवश्यक कारवाहीको लागि पशु क्वारेन्टाईन कार्यालय नेपालगञ्ज पठाएको जनाएको छ ।
अपराध अनुसन्धान र कारवाही :
बाँके प्रहरीमा चैत्र महिनाभर जम्मा १ सय ५८ वटा मुद्दा दर्ता भएकोमा १ सय ९३ जना व्यक्तिहरुलाई पक्राउ गरी कानूनी दायरामा ल्याईएको जनाएको छ । यो अवधीमा अघिल्लो महिनाको ५२ वटा पेण्डिङ मुद्दाहरु फर्छौट गरेको र ५६ जना फरार अपराधी पक्राउ गरिएको छ । जसबाट ५ बर्ष ७ महिना २९ दिन कैद र १८ लाख ८६ हजार ७ सय ८ रुपैया जरिवाना असूलउपर गरिएको जनाएको छ ।
बाँके प्रहरीमा चैत्र महिनाभर ठाडो उजुरी ५ सय ९३ वटा प्राप्त भएको ५ सय २५ फर्छौट भएको र ६८ वटा बाँकी निवेदन फर्छौट प्रक्रियामा रहेको उल्लेख छ । यसैगरी प्रहरीले लागू औषध ओसारपसार विरुद्ध योजनाबद्ध रुपमा प्रहरी परिचालन गरी १ सय २८ ग्राम २ सय ४१ मिलिग्राम ब्राउन सुगर र २ सय ४४ ग्राम चरेससहित १६ जना ओसार पसारकर्ताहरुलाई कानूनी दायरामा ल्याउन सफल भएको जनाएको छ ।
यसैगरी बाँके प्रहरीले चैत्र महिनामा हराएका ६ वटा मोटरसाईकल, २६ थान आईफोन (एन्ड्रोईड) मोबाईल फेला पारी सम्बन्धित व्यक्तिलाई बुझाएको छ । त्यस्तै सामाजिक संजाल व्हाट्सएप प्रयोग गरी फिरौती माग्ने १ जनालाई पक्राउ गरि कानूनी दायरामा ल्याईएको छ । भने ढुङ्गा, मुक्काले टाउँकोमा प्रहार गरि कर्तव्य गरि मार्ने १ युवकलाई पक्राउ गरि कानूनी दायरामा ल्याएको र पूर्व रिसइवी लिई कर्तव्य गरि मार्ने १ जनालाई पक्राउ गरि कानूनी दायरामा ल्याएको सार्वजनिक सूचनामा उल्लेख छ ।
महिला बालबालिकासंग सम्बन्धित अपराध अनुसन्धान कारवाही :
चैत महिनामा सम्पादित प्रमुख कार्य प्रगति विवरणमा महिला बालबालिकासंग सम्बन्धित अपराधमा १४ वटा मुद्दा दर्ता भएकोमा ११ जनालाई पक्राउ गरी कानूनी दायरामा ल्याएको जनाएको छ । यी मध्ये घरेलु हिंसा सम्बन्धी ३८ वटा उजुरी प्राप्त भएकोमा ३० वटा फर्छौट भएको बाँकी अनुसन्धान कार्वाही प्रक्रियामा रहेको छ ।
यस्तै हराएका महिला, बालबालिका तथा जेष्ठ नागरिक सम्बन्धमा ४५ वटा निवेदन प्राप्त भएकोमा २० जना फेला पारी अभिभावकको जिम्मा लगाईएको र बाँकी खोजतलासको क्रममा रहेको छ । त्यस्तै सिमानाकाबाट ९० जना महिला, बालबालिका तथा जेष्ठनागरिकहरुलाई उद्धार गरिएको सूचनामा उल्लेख छ ।
समुदाय प्रहरी सहकार्य गतिविधी :
समुदाय र प्रहरी सहकार्य अन्तर्गत मातहत सहित गरी चैत्र महिनामा बाँके प्रहरीले १ सय ४१ वटा सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । जसमध्ये लैङ्गिकहिंसा निवारण, लागू औषध सम्बन्धी सचेतना, आत्महत्या न्यूनिकरण सम्वन्धी सचेतना, अल्पसंख्यकसंग प्रहरी, नागरिक सुनुवाई, समुदाय प्रहरी साझेदारी, साईबर अपराध र चोरी सम्बन्धी सचेतना लगायतका कार्यक्रम संचालन गरिएको छ ।
यसैगरी ट्राफिक सचेतनातर्फ २ सय ६३ वटा सचेतनामुलक कार्यक्रम (लेन अनुशासन,जेब्रा क्रसिङ, ट्राफिक लाईट) संचालन गरीएको उल्लेख छ ।
आन्तरिक सुदृढीकरण तर्फ :
बाँके प्रहरीले चैत्र महिनामा उत्कृष्ट कार्य गर्ने २ जना प्रहरी कर्मचारीहरुलाई पुरस्कृत र आचरण विपरीत कार्य गर्ने १ जना प्रहरी कर्मचारीलाई विभागीय कार्वाही गरिएको छ ।
यसै अवधिमा पुर्व प्रहरी कर्मचारीहरुको गुनासो सम्बोधन तथा छलफल कार्यक्रम सम्पन्न भएको, जिल्ला प्रहरी कार्यालय बाँकेको बाटो मर्मत, रङ रोगन, कार्यालय परिसर मर्मत तथा स्टीपलाईट जडान सौन्दर्यीकरण गरि सेवाग्राही मैत्री वातावरण तयार गरिएको जनाएको छ ।
यसैगरी प्रहरी चौकी बेलभारमा मुल गेट निर्माण कार्य भईरहेको, प्रहरी चौकी साईगाउँमा जानकी गाउपालिकाको सहयोगमा कम्प्युटर, प्रिन्टर लगायतका उपकरण प्राप्त भएको र इप्रका चिसापानी, प्रहरी बिट न्यू सिटि र प्रहरी चौकी फत्तेपुर (क) बाँकेलाई जग्गा प्राप्तिको लागि लेखापढी तथा समन्वय भईरहेको सार्वजनिक सूचनामा उल्लेख छ ।