वीरगञ्ज । पर्साको वीरगञ्जमा आज दुई समुदायबीच झडप भएपछि स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय पर्साले शनिबार साँझ ६:३० बजेदेखि आइतबार दिउँसो १२ बजेसम्मका लागि वीरगञ्ज महानगरपालिकाभित्र चार किल्ला तोकी कर्फ्यू आदेश जारी गरेको हो ।
कर्फ्यू अवधिभर तोकिएको सीमाभित्र आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक र घेराउ जस्ता गतिविधि पूर्णरूपमा निषेध गरिएको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालद्वारा जारी आदेशमा उल्लेख छ ।
शनिबार दिउँसो हनुमान जयन्तीको शोभायात्राका क्रममा छप्कैया चोकमा दुई समुदायबीच झडप भएको थियो । झडपका क्रममा केही पसल तथा मोटरसाइकलहरूमा आगजनी भएको र स्थानीय बासिन्दा तथा प्रहरीसमेत घाइते भएका छन ।
घाइतेहरूको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार भईरहेको बताइएको छ । घटनापछि वीरगञ्जको अवस्था थप तनावग्रस्त बनेपछि स्थिति नियन्त्रणमा लिन प्रशासनले ठूलो संख्यामा सुरक्षा निकाय परिचालन गरेको थियोे ।
कर्फ्यूको क्षेत्र :
पूर्वतर्फ : भेडियाही चौक, वीरगञ्ज महानगरपालिका–१५
पश्चिमतर्फ : सिर्सिया पुल, वीरगञ्ज महानगरपालिका–२५
उत्तरतर्फ : गण्डक चौक, वीरगञ्ज महानगरपालिका–१४
दक्षिणतर्फ : शंकराचार्य गेट, वीरगञ्ज महानगरपालिका–१६