नेपालगन्ज । बाँकेका पत्रकारहरूले राजावादीले गरेको हिंसात्मक प्रदर्शनका क्रममा सञ्चारमाध्यम र सञ्चारकर्मीलाई निशाना बनाउँदै मारिएका पत्रकार सुरेश रजकको हत्या, कुटपिट तथा आक्रमणको विरोधमा आज जिल्ला प्रशासन कार्यालय बाँकेमार्फत सरकारलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।
यही चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनको क्रममा पत्रकार रजकको आगलागीमा मृत्यु भएको, अन्नपूर्ण पोष्ट र कान्तिपुर टिभीको कार्यालयमा ढुंगामुढा प्रहार गरिएको तथा हिमालय टिभीको सवारी साधनमा क्षति पुगेको घटनाको छानबिन गरी कार्वाही गर्न पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले मंगलबार सहायक प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीलाई ध्यानाकर्षण पत्र बुझाइएका हुन ।
‘उल्लेखित घटनाप्रति नेपाल पत्रकार महासंघ गम्भीर छ, अतः प्रमुख जिल्ला अधिकारीज्यूमार्फत नेपाल सरकारसमक्ष ज्यान गुमाएका पत्रकारको हत्याबारे गहिरो अनुसन्धान गरी हत्यामा संलग्न सबैलाई फौजदारी अभियोगमा कारबाही गर्न तथा उहाँको परिवारलाई क्षतिपूर्ति दिन, सञ्चार माध्यम र सञ्चारकर्मीमाथि आक्रमण गर्ने सबैलाई कानुनी कठघरामा ल्याउन तथा क्षति पुर्याइएका सञ्चार गृह र सञ्चारकर्मीलाई यथोचित क्षतिपूर्तिका साथै घाइते पत्रकारको उपचारको प्रवन्ध मिलाउन महासंघ जोडदार माग गर्दछ,’ ध्यानाकर्षण पत्र उल्लेख छ ।
विगतमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हननका घटनाहरूमा संलग्नहरूलाई तत्काल कानुनी कारबाही गर्न र भविष्यमा सञ्चारमाध्यम र सञ्चारकर्मीको सुरक्षाको उचित प्रवन्ध मिलाउन पनि महासंघले माग गरेको छ । एक सातभित्रै सम्बोधन हुने विश्वसनीय आधार निर्माण गर्न प्रमुख जिल्ला अधिकारीज्यूमार्फत नेपाल सरकारसमक्ष आग्रह गर्दछौं, ध्यानाकर्षण पत्रमा अगाडि भनिएको छ । अन्यथा महासंघ सरकारविरुद्ध देशव्यापी रुपमा चरणबद्ध आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी समेत दिएको छ ।

