Close sidebar

शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षक महासङ्घको दोस्रो चरणको आन्दोलन घोषणा

२०८१ फाल्गुन २७ गते, मंगलवार ०२:२४

काठमाण्डौ । शिक्षकहरूले विद्यालय शिक्षा विधेयक छिटो अगाडि नबढेकामा नेपाल शिक्षक महासङ्घले आपत्ति जनाएको छ । शिक्षा ऐन जारी गर्न माग गर्दै महासङ्घले पहिलो चरणको आन्दोलन सकेर दोस्रो चरणको आन्दोलन घोषणा गरेको हो ।सोमबार आयोजित पत्रकार सम्मेलनमा महासङ्घका अध्यक्ष लक्ष्मण किशोर सुवेदीले पहिलो चरणको आन्दोलनका माग सुनुवाइ नभएकाले दोस्रो चरणको आन्दोलन गर्नुपरेको बताए । महासङ्घले यहि फागुन २४ गते पहिलो चरणको आन्दोलन गरेको थियो ।

महासङ्घका अध्यक्ष सुवेदीले स्थायी, राहत, साविक उच्च मावि, अस्थायी, करार, बालविकास, सिकाइ अनुदान, विशेष शिक्षा, प्राविधिक धार, निजी तथा संस्थागत विद्यालयका शिक्षकलगायत सबै खाले शिक्षक र विद्यालय कर्मचारीको मुख्य मुद्दा शिक्षा ऐनबाट सम्बोधन हुनुपर्ने र विद्यालय, विद्यार्थी, शिक्षक र कर्मचारीमैत्री ऐन ल्याउने विषयमा आफूहरूको गम्भीर चासो रहेको सुनाए ।

उनका अनुसार दोस्रो चरणको आन्दोलन अन्तर्गत प्रमुख राजनीतिक दलका कार्यालयमा प्रतिनिधिमूलक धर्ना कार्यक्रम राखिएको छ । जसअनुसार फागुन २७ देखि अगामी चैत ५ गतेसम्म नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टीलगायत प्रमुख राजनीतिक दलका केन्द्रीय कार्यालयमा धर्ना दिइने कार्यक्रम रहेको अध्यक्ष सुवेदीले बताए ।

आन्दोलनकै क्रममा हरेक जिल्ला आन्दोलन परिचालन समितिले आफ्नो जिल्लाबाट प्रतिनिधित्व गर्ने सङ्घीय सांसदसँग भेट गरी विद्यालय शिक्षा ऐन जारी गर्न दबाब सिर्जना गर्ने उनले सुनाए । यसैगरी अध्यक्ष सुवेदीले चैत ५ गतेसम्म माग पूरा नभए चैत ७ गतेदेखि चैत १५ गतेसम्म काठमाडौंमा रिले अनसन र चैत २० गतेबाट अनिश्चितकालीन सडक आन्दोलनका कार्यक्रम अगाडि बढाइने बताएका छन ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया